धरान : धरानका मेयर तिलक राईको नेतृत्वमा काठमाडौं पुगेका राजनीतिक गठबन्धनको समूहले विभिन्न मन्त्रालयमा गएर धरानको विकास निर्माणको बारेमा ध्यानाकर्षण गराएका छन् ।
बिहीबार कानून मन्त्रालय, अर्थ मन्त्रालय र जन स्वास्थ्य वातावरण मन्त्रालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।
‘डेलिगेसन’को क्रममा मेयर राईसहितको टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका बेथितिको बारेमा समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।
खानेपानी, सेउती र सर्दु करिडोर निर्माण, विद्युत राष्ट्रिय प्रसारण लाईनको धरानमा सवस्टेसन, बसपार्क, सुरुङमार्ग, कोरोनाविरुद्धको खोप, धरानमा भएका पुल, धरान–विष्णुपादुका कालोपत्रे पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न आग्रह गरे ।
मेयर राईले जोगबनी–किमाथाङ्का सडकको धरान बजार खण्डको मापदण्ड परिमार्जन गरि ८० फिट कायम गर्न माग गरेका छन् ।
न्याय तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी र धरान वडा नं. २० स्थित विद्युत सवस्टेसन बनाउने बारे आफूले हेरिदिने आश्वासन दिए । उनले धरानसँग जोडिएका विकास निर्माणका विषयहरुमा साथ सहयोग रहने बताए ।
अर्थमन्त्री जनार्दन शर्माले उक्त योजनाहरुको लिखित प्रस्तावका साथै गरिबी अन्त्य गर्न धरानमा रहेका सिमान्तकृत वर्गको तथ्याङ्क सङकलन गरि ठोस योजना उपमहानगरपालिकासँग माग गरे ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित चारैजना कार्यकारिणीले राजीनामा नदिए कारबाही गरिने बताए ।
अख्तियारको पटक–पटकको छानबिन, आन्दोलनको माग, छानबिन समितिको रिपोर्टको अधारमा वीपीका पदाधिकारीहरुले राजीनामा दिनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । प्रतिष्ठान ऐनमा ६ जना सिनेट सदस्यले कुलपति तथा प्रधानमन्त्री समक्ष उजुरी दिए सिनेटहरु मध्येबाट ३ सदस्यीय समिति बनाई बर्खास्त गर्न सकिने ब्यवस्था छ ।
यस्तै, मन्त्री श्रेष्ठले दुई महिनाभित्रमा १ करोड ५ लाख खोप नेपाल आइपुग्ने बताउँदै कोरोनाको उच्च जोखिम भएको ठाउँमा खोप पर्याप्त रुपमा वितरण गरिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।












Discussion about this post