विराटनगर : संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ ।
नागरिकता विधेयक पारित नहुँदा नागरिकताविहीन जन्मसिद्धका आधारमा नागरिकता लिएका अभिभावकका सन्तानले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
नागरिकताको अभावमा अहिले पनि नेपालका एक तिहाइ युवा जनशक्तिको भविष्य अन्योलमा रहेको नगरिकता पीडित सङ्घर्ष समिति मोरङका अध्यक्ष अजय पोद्दारले बताए । नागरिकताको अभावमा उच्च शिक्षा र रोजगारीको अवसर गुमेको उनको भनाइ छ ।
‘सरकारले चुुनावका बेला मात्रै नागरिकता विधेयक सम्झँँदै आएको छ,’ उनले भने, ‘चुनावका बेला बुवा–आमासँग भोट लिने तर पछि त्यही बुवाआमाका सन्तानसँग गैह्र नागरिक सरह व्यवहार गर्ने बिषयले पनि सरकारको दोहोरो चरित्र स्पष्ट हुन्छ ।’
गत जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन नागरिकता अध्यादेश जारी गरेकी थिइन् । तर, राष्ट्रपति भण्डारीद्वारा जारीे ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ सर्वोच्च अदालतले कार्यान्यन नगर्न अन्तरिम आदेश दिएको थियो ।














Discussion about this post