इटहरी : इटहरीमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएकी एक महिलालाई कोभिशिल्डको दोस्रो डोज एस्ट्राजेनेका खोप लगाइएको छ ।
इटहरी १९ तरहराकी ५५ वर्षीया लक्ष्मीमाया पुरीलाई पहिलो डोज भेरोसेल लगाएपनि दोस्रो डोज भने एस्ट्राजेनेका खोप लगाइएको हो । स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण स्वास्थ्यमाथि नै खेलवाड हुनेगरी दोस्रो डोज अस्ट्राजेनेका खोप लगाइएको हो ।
हाँसपोसा स्वास्थ्य चौकी तरहरामा गत श्रावण ११ गते भेरोसेलको पहिलो डोज लगाएकी उनलाई भदौ १३ गते सोही स्वास्थचौकीमा स्वास्थ्यकर्मीले एस्ट्राजेनेका खोप लगाएका हुन् । सो खोप लगाएपछि उनी बिरामी भएकी छन् ।
लक्ष्मीका छोरा मदन पुरीले स्वास्थ्यमाथि नै गम्भीर लापरबाही भएकाले आपत्तिको विषय रहेको बताए । ‘कार्डमा भेरोसेल लगाएको मिति देख्दा–देख्दै किन अर्को खोप लगाइयो ?’ उनले प्रश्न गरे ।
यता, इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार पहिलो मात्रा भेरोसेल लगाएकाले भेरोसेल नै र कोभिशिल्ड लगाएकाले दोस्रो मात्रापनि कोभिशिल्ड नै लगाउनुपर्ने हुन्छ । तर, पहिलो डोज भेरोसेल लगाएकी महिलालाई कोभिशिल्डको दोस्रो डोज लगाउनु लापरबाही भएको उनको भनाइ छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले खोप लगाउने स्वास्थ्यकर्मीको गम्भीर लापरवाही भएको बताए ।
स्वास्थ्यकर्मीको गम्भीर लापरवाही भएको भन्दै स्थानीय तहका कर्मचारी भएका कारण उनीहरुलाई स्थानीय तहले नै सचेत गराउनुपर्ने उनको भनाइ छ ।
Discussion about this post