इटहरी : इटहरीमा भाटभटेनीको नयाँ शाखा शुभारम्भ भएको छ । शनिबार (आज) देखि सुनसरीको इटहरीमा नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर भाटभटेनी सञ्चालनमा आएको हो।
इटहरी १७ लबीपुरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन्। उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै सामानमा १० प्रतिशत छुट दिएको छ ।
गुरुङका अनुसार ३५ कट्ठा जमिनसहित इटहरीको भाटभटेनीको लगानी ३ अर्ब पुगेको छ।
जमिन र भौतिक संरचनाका लागि मात्र भाटभटेनीले २ अर्ब लगानी गरिसकेको गुरुङले जानकारी दिए । भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले सुपर स्टोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र सरसामानहरू सजाउने काम सुरु भइसकेको बताए।
व्यवस्थापक भट्टराईका अनुसार १८ महिनाअघि ३५ कट्ठा जमिनमा भाटभटेनीको निर्माण कार्य सुरु गरिएको थियो। यसको उद्घाटन गत पुसदेखि माघ महिनासम्ममा नै गरिसक्ने लक्ष्य राखिएको थियो। तर, कोभिड सङ्क्रमणका कारण ६ महिना ढिला भएको उनले बताए ।
यहाँ भाटभटेनीका ए, बी र सी गरी ३ वटा ब्लक छन्। तीन वटै ब्लकको कुल क्षेत्रफल ३ लाख वर्गफिट छ। सबै ब्लकमा बेसमेन्टसहित ७ तला छन्। बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी सजिलै अटाउने क्षमता छ।
पहिलो तला किचनवेयर र बालबालिकाका खेलौनाका लागि छुट्याइएको छ। यसमा ७ वटा काउन्टर हुनेछन्।
दोस्रो तलामा कपडा, जुत्ता आदि राखिनेछन् र यसमा १० वटा काउन्टरको व्यवस्था गरिएको छ।
तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, लगेज, गलैँचा आदि सजाइनेछ। यसमा १ काउन्टर राखिनेछ। चौथो तलामा हङकङको विश्व प्रसिद्ध मल्टिनेसनल कम्पनी क्यू एन्ड क्यूका फर्निचर हुनेछन्।
फर्निचरको तलाभन्दा माथि २ वटा मल्टिप्लेक्स सिनेमा हल हुनेछन्। एक हलको दर्शक क्षमता ५ सय हुनेछ।
त्यस्तै, सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट हुनेछ। यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ। यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिनेछ।
हिमालय जाबा कफीभन्दा माथिका तला क बर्गका वाणिज्य बैङ्कका लागि छुट्याइएको छ। यही ब्लकमा बैङ्कका १० वटा एटीएम पनि राखिनेछन् ।
इटहरीको भाटभटेनीमा प्यासेजमा हिँड्न अटोवाक राखिएको छ। प्यासेजमा अटोवाक नेपालमै पहिलो पटक इटहरीमा भाटभटेनीले राखेको उनले बताए ।
यो पनि – इटहरीमा दुई अर्ब लागतमा तयार भयो नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर भाटभटेनी












Discussion about this post