धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार भएको तोडफोडप्रति धरान उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मेयर तिलक राईले आज (मंगलबार) एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक क्षति हुने गरी भएको घटनाप्रति धरान उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मेयर राईले ‘संवादबाट मात्रै समाधान सम्भव छ’ भन्ने अभिप्रायलाई स्मरण गर्दै क्रिया–प्रतिक्रियाहरुले अझ समस्यालाई असमञ्ज्यसतामा डोर्याउने हुँदा सम्पूर्ण सरोकारवाला पक्षहरुलाई संयमता अपनाउन अनुरोध गरेका छन् ।
प्रतिष्ठानमा भइरहेको वेथिति विसंगतिको विषयलाई लिएर केही समयअघि उपमहानगरपालिकाको नेतृत्वमा धरानका राजनीतिक दल, नागरिक दबाब समूहसहितको प्रतिनिधिमण्डल काठमाण्डौं गई सम्बन्धित मन्त्रालयमा दबाब समेत दिइएको मेयर राईले प्रेस विज्ञप्तिमा मार्फत उल्लेख गरेका छन् ।
धरान उपमहानगरपालिकाको अगुवाईमा राजनीतिक दल र वीपी शुद्धिकरण संघर्ष समितिसंग समस्या समाधानका लागि विभिन्न चरणमा छलफल समेत गरिरहेको मेयर राईले बताए ।
Discussion about this post