धरान : ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर धरानमा विविध कार्यक्रम गरिएको छ ।
शुक्रबार (आज) धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाको आयोजनामा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकहरुले आफूसँग भएका प्रतिभाहरु प्रदर्शन गरेका थिए ।
उनीहरूले गायन, नृत्य, नौमती बाजा, मादल, बिनायो, साकेला नाच प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले माला लगाएर छाता वितरण गरे ।
उनले ज्येष्ठ नागरिक दिवसको शुभकामना दिदैँ ज्येष्ठ नागरिकमा रहेका विषयगत ज्ञान, सीप, क्षमता र अनुभवको अधिकतम सदुपयोग गर्ने नीति बनाएर कार्यान्वयन गरेमा सामाजिक तथा आर्थिक रूपमा पनि बोझ नहुने तर्क गरे ।
ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभव वर्तमान र भावी पुस्ताको लागि ठूलो प्रेरणाको स्रोत बन्न सक्ने मेयर राईको भनाई थियो ।
सामाजिक शाखाकी प्रमुख प्रज्ञादेवि निरौलाले धरानका २० वटै वडामा ज्येष्ठ नागरिक समिति गठन गरिएको जानकारी दिइन् ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरुले राज्यले ज्येष्ठ नागरिकहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
धरान वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, ज्येष्ठ नागरिक मिलन केन्द्र धरानका सभापति सरला कायस्थ, ज्येष्ठ नागरिक मिलन केन्द्रका उपसभापति कुमार ब. कार्की लगायतले सम्बोधन गरेका थिए ।
Discussion about this post