इटहरी : इटहरीमा कात्तिक ४ गतेदेखि निजी विद्यालयहरू सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू कात्तिक ४ गतेदेखि सञ्चालनमा आउने भएका हुन् ।
प्याब्सन इटहरी नगर समितिका सचिव राजेश कुमार श्रेष्ठका अनुसार ६ महिनादेखि बन्द रहेका विद्यालय खुलाउन स्थानीय प्रशासनसँग माग गरेसँगै विद्यालय खुलाउने तयारी गरिएको हो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीलाई नगर प्याब्सनले भेट गरेर विद्यालय खुलाउन माग गरेको थियो । दसैँ लगत्तै कात्तिक ४ बाट विद्यालय खुलाउन लागिएको श्रेष्ठले जानकारी दिए ।
‘विद्यालय खुलाउनको लागि अनुरोध गर्दा दसैँपछिदेखि खुलाउने सहमति भएको छ,’ उनले भने, ‘उपमहानगरपालिकाबाट विद्यालय सञ्चालन गर्न दिइनेभएपछि नगर प्याब्सनले कात्तिक ४ गतेबाट विद्यालय सञ्चालनमा ल्याउने व्यवस्था मिलाउनका लागि नगर क्षेत्रका सम्पूर्ण निजी विद्यालयहरूलाई जानकारी गराएका छौँ ।’
सुनसरीका धेरैजसो स्थानीय तहमा एक महिनाअघिबाटै कक्षा सञ्चालनमा आएपनि इटहरीमा भने कोरोना माहामारी कायमै रहेको जनाउदै विद्यालय सञ्चालनमा प्रशासनले अनुमति दिएको थिएन ।
कोरोना माहामारीका कारण भौतिक रूपमा विद्यालय सञ्चालनमा नआएपछि अनलाइन कक्षा सञ्चालनमा ल्याएकाथिए ।














Discussion about this post