विराटनगर : १ लाख धनराशीको आठौँ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” बाट प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई प्रदान गरिएको छ ।
प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवासभाका प्रहरी निरीक्षक योगराज खतिवडा र १ नं. प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई ६६ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो ।
२०७८ भदौ २१ गते जिल्ला सङ्खुवासभा, मादी नगरपालिका १ खोलागाँउका एकै परिवारका ६ जना सदस्यहरूको हत्या भएको घटनाको सफल अनुसन्धान गरी हत्यामा संलग्न ५ जना अभियुक्तहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनराशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले उनीहरूलाई पुरस्कृत गरिएको हो ।
वर्षभरीमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरू मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधिद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरूप प्रहरी दोय खतिवडा र खड्कालाई साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरे ।
प्रहरी जवान तथा अधिकृतहरूको मनोबल उच्च राख्न यस साधनादेवी प्रहरी पराक्रम पुरस्कारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आफ्नी स्वर्गीय माता साधना देवी श्रेष्ठको नाममा वार्षिक रूपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. विक्रम प्रसाद श्रेष्ठलाई प्रहरी नायब महानिरीक्षक अरुण कुमार बीसीले धन्यवाद व्यक्त गरेका थिए ।



















Discussion about this post