बिराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि संसदमा प्रस्ताव टेबल गर्ने तयारी गरेका छन् ।
शुक्रबार भोलि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । बैठकमा विश्वासको मतका लागि प्रस्ताव टेबल गर्ने तयारी भएको हो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका पूर्वमन्त्री हिक्मतकुमार कार्कीका अनुसार शुक्रबार संसदमा प्रस्ताव टेबल गर्ने तयारी छ । प्रस्ताव टेबल भए पनि मतदान हुने र नहुने टुङ्गो नभएको उनले बताएका छन् ।
दसैँ मनाउन गृहजिल्ला पुगेका प्रदेश सांसदहरू राजधानी आइनपुगेका कारण मतदान प्रक्रिया ढिलो हुनसक्ने उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराएका थिए । असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भए पनि सरकारले संवैधानिक व्यवस्थाको उल्लङ्घन गरेको प्रतिपक्षी दलको आरोप छ ।
गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यले दसैँअघि नै विश्वासको मत लिनुपर्ने प्रतिपक्षीहरूको दाबी थियो । तर मुख्यमन्त्री आचार्यले दसैँ मनाएपछि मात्रै विश्वासको मत लिने बताएका थिए ।
मुख्यमन्त्रीको सल्लाहमा सभामुखले १२ दिन बैठक स्थगित गरेपछि प्रतिपक्षी दलहरू असन्तुष्ट छन् ।
प्रतिपक्षी दलहरूले शुक्रबार नै प्रक्रिया टुङ्ग्याउनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले छलछाम गरेर आफ्नो आयु लम्ब्याउन नसक्ने बताएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठकको कार्यसूची तय गर्नका लागि शुक्रबार साढे १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको बताए । बैठकअघि नेकपा एमाले संसदीय दलको बैठक पनि बस्दै छ ।












Discussion about this post