मोरङ : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिने तयारी गरेका छन्। त्यसअघि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने बताइएको छ।
आचार्यले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि आज ९सोमबार० प्रदेशसभा बैठक आह्वान गरिएको छ।
आचार्यले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले बतायो। स्रोतका अनुसार प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना नरहेपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन्।
राजीनामा दिने कि विश्वासको मत लिनेभन्ने विषयमा उनले सत्तारुढ दल एमालेका नेताहरुसँग परामर्श एवं छलफल गरेका छन्। त्यसक्रममा एमाले नेताहरुले विश्वासको मत पाउने सम्भावना नरहेको भन्दै राजीनामा दिँदा उपयुक्त हुने सुझाव आचार्यलाई दिएको स्रोतले बतायो।
आचार्यका स्वकीय सचिव अनिल राजधामीले अहिले पनि पार्टीका नेताहरुसँग मुख्यमन्त्रीको छलफल जारी रहेको जानकारी दिए। ‘मुख्यमन्त्री ज्यू अहिले पनि छलफल एवं परामर्शमै हुनुहुन्छ,’ उनले भने, ‘राजीनामा दिने वा संसद ‘फेस’ गर्नेभन्नेमा यकिन भइसकेको छैन।’ राजीनामा दिने कि विश्वासको मत लिनेभन्ने बारेमा अहिलेसम्म आधाआधा मात्रै सम्भावना रहेको राजधामीले बताए।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ एमालेसँग ४१ सांसद छन्। सांसद संख्या अपर्याप्त रहेपछि आचार्यले विश्वाको मत पाउने सम्भावना नरहेको बताइन्छ। एमाले सचिव आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्।
विपक्षी गठबन्धनसँग ५० सांसद रहेको छ। कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी०, जसपासमेतको गठबन्धनले नेकपा ९एस०का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीको रूपमा अघि सारेको छ।
गठबन्धनको आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय लिइसकेको छ। अन्नपूर्ण पोस्ट












Discussion about this post