इटहरी : राष्ट्रिय जनगणना २०७८ को मुख्य गणना आज (बिहीबार) सुरु हुँदैछ ।
‘मेरो गणना, मेरो सहमागिता’ भन्ने नारासहित हुन लागेको यसपटकको जनगणनामा प्रत्येक परिवारको सामाजिक र आर्थिक विवरणसमेत सङ्कलन गरिँदै छ ।
देशमा सङ्घीय संरचना लागू भएपछिको यो पहिलो तथा देशको १२ औं जनगणना हो । मङ्सिर ९ सम्म चल्ने जनगणनाका लागि घर–घरमा आउने गणकले ८० प्रश्नावली भर्नेछन् ।
यसअघि असोज १८ सम्म पहिलो चरणमा सुपरीवेक्षकले सामाजिक, आर्थिक गणना गरेका छन् । सुपरीवेक्षकले वडा तहको सामुदायिक तथ्याङ्कसमेत सङ्कलन गरेका छन् । वडा तहको समेत विभिन्न विवरण आउने भएकाले यो पटकको जनगणना विगतभन्दा फरक छ ।
नेपालमा पहिलो जनगणना १९६८ सालमा गरिएको थियो । यद्यपि, नेपालको पहिलो आधुनिक जनगणना २००९–११ मा सम्पन्न भएको थियो, जसमा करिब ८० लाख जनसङ्ख्याको गणना गरिएको देखिन्छ । पछिल्लो पटक २०६८ सालमा जनगणना गरिएको थियो ।















Discussion about this post