इटहरी : सुनसरी बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गरेको छ । आइतबार प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै सुनसरी बार आन्दोलनमा उत्रिएको हो ।
सुनसरी बारका अध्यक्ष शारदा प्रसाद अधिकारीका अनुसार नेपाल बार एसोसिएसन सुनसरीले आइतबार जिल्ला अदालत इनरुवामा एक घण्टा धर्ना बसेर प्रधानन्यायधीशको राजीनामा माग गरेका हुन् । कानून व्यवसायीहरूले कालो मास्क लगाएर एक घण्टा धर्नामा बसेको उनले बताए ।
‘बिहान ११ बजेदेखि १२ बजेसम्म धर्नामा बसिएको हो,’ उनले भने, ‘सर्वोच्च अदालत परिसरमा जारी धर्ना तथा आन्दोलनको कार्यक्रमको समर्थनमा सुनसरीमा समेत आन्दोलन थालिएको हो ।’
बारले तीनदिनसम्म दैनिक एक घण्टाको दरले लगातार विरोध जनाउने उनले बताए । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आइतबारका लागि बार एसोसिएसनले देशभर आन्दोलनको घोषणा गरेको थियो ।
Discussion about this post