इटहरी : लेखक, सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ माथि इटहरीमा चर्चा गरिएको छ ।
शुक्रबार इटहरीमा रहेको धरणीधर दाहाल स्मृति प्रतिष्ठान र संगीत साधना प्रतिष्ठानले आयोजना गरेको संवादमाथि प्रसिद्व कवि बम देवान, समालोचक डा. रामजी तिम्सिना, कविद्वय सीमा आभास र टीका आत्रेयले पुस्तकमाथि चर्चा गरेका थिए ।
कवि बम देवानले स्वतन्त्र र मुक्त भन्दा माथि उठेर लेखिएको पुस्तक मोक्षभूमि रहेकाले उपन्यासका पात्रले अझै यसलाई क्लासिकल बनाएको तर्क राखे । ‘यो पुस्तक दासहरूको कथा हो, उपन्यासका पात्रले पुस्तकलाई ‘क्लासिकल’ बनाएको छ,’ उनले भने ।
कवि सीमा आभासले आफूले उक्त पुस्तक निकै दिन लगाएर पढेकाले नेपाली साहित्यको स्थापित किताब रहेको बताइन् ।
उनले भनिन्, ‘यो उपन्यास पढेन भने पश्चाताप हुन्छ, म आफैँले पनि निकै दिन लगाएर पढेकी हुँ ।’
समालोचक डा. रामजी तिम्सिना र कवि टीका आत्रेयले पुस्तकको समीक्षा गर्दै उक्त पुस्तक सपनाको नेपाल रहेको धारणा राखे । ‘यो किताब मेरो बौद्विकता भन्दा माथि छ कि भन्ने पनि लाग्यो,’ कवि आत्रेयले भनिन् ।
कार्यक्रममा प्रख्यात कवि मनु मञ्जिलले सहजीकरण गरेका थिए ।














Discussion about this post