धरान : भुइँभरी छरिएर
हल्का जीवन बाँच्छु म ।
मलाई हुरी र बतासले
घरीघरी आकाश देखाउने लालचमा
माथि–माथि उडाउँदै लैजान्छ ।
धेरै पर–परसम्म पुर्याएर मलाई फेरि भुइँमै झारिदिन्छ
यसै त म भुइँबाटै पनि सिङ्गै आकाश देख्न सक्छु ।
‘ब्याकग्राउण्ड’ मा मधूरो संगीतको धूनसँगै चर्चित कवि मनु मञ्जिलले ‘पत्कर’ शीर्षकको कविता वाचन गर्दा हलमा भएका मानिसहरूबाट ‘वाहवाही पायो’ । दार्जिलिङका कवि वासुदेव पुलामीको कविताकृति ‘आधा अर्थ’ संग्रहभित्रको ‘पत्कर’ कविता मात्रै होइन, कवि पुलामीले वाचन गरेर प्रत्येक कविता उत्तिकै सशक्त थिए ।
कवि पुलामीले लेखकले मौलिक कुुराको उठान सँगै मौलिक स्वरूप दिनुपर्ने बताए । यसअघि सन् २०१२ मा उज्यालोका आँखा कविता प्रकाशित भएको आठ वर्षपछि २०२० मा उक्त कृति प्रकाशित गरिएको उनको भनाइ छ ।
कलरब धरानले आयोजना गरेको पुस्तक चर्चा कार्यक्रममा कवि मनु मञ्जिल, डा. इन्दिरा मिश्र वक्ता थिए । कवि मञ्जिलले कविता लेख्नका लागि कला आवश्यक पर्ने भएकाले पुलामीका कवितामा त्यो कला भेटिएको बताए । ‘कविता लेख्न पनि खेल खेलेजस्तै इनर्जी आवश्यक पर्छ,’ उनले भने, ‘प्रकृतिलाई पनि मिहिन ढंगले कवितामा उतार्न सक्नु नै कविको कला हो ।’

डा. मिश्रले उक्त संग्रहमा कविले हस्तक्षेपकारी भूमिका निर्वाह गरेको तर्क राखिन् । उनले भनिन्, ‘कृति पढ्दै जाँदा धेरैजसो कवितामा कविले हस्तक्षेपकारी भूमिका निर्वाह गरेका छन् ।’
कार्यक्रमका प्रमुख अतिथि प्रख्यात कवि बम देवानले आफू दार्जिलिङवासीलाई प्रवासी भन्न मन नलाग्ने बताए । ‘दार्जिलिङका नागरिक नेपाली नागरिक नै हुन्, नेपालभासीहरू सबै नेपाली हुन्,’ उनले भने, ‘वासुदेवका कवितामा नेपाली माटोको सुगन्ध पाइन्छ ।’
कलरब धरानका अध्यक्ष सुदीप पाख्रीनले यसअघि नै साहित्यिक गतिविधि गर्ने तयारी गरेको भएपनि कोरोना कहरका कारण समस्या भइरहेको बताए । अहिले धरानमा साहित्यिक गतिविधि भइरहेकाले सहज भएको उनको भनाइ छ ।
अग्रज कवि चन्द्र गुरुङले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पनि उर्जा दिने बताए ।
फोटोग्राफर समेत रहेका वीरेन सुब्बाले कार्यक्रमभरी वक्ताले माइक समात्नसाथ ‘ब्याकग्राउण्ड’ मा मधूरो संगीत बजाउँदा कार्यक्रम झनै आकर्षक बनेको थियो ।














Discussion about this post