इटहरी (डेस्क) : मोरङको विराट चोकमा अज्ञात व्यक्तिले कान काटिदिएपछि एक जना ट्रक चालकको अवस्था गम्भीर बनेको छ ।
दुई जना अपरिचित पुरुषले बुधबार राति ११ः२५ बजेतिर ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका ७ घर भएका ५२ वर्षीय वोधविक्रम मुखियाको देब्रे कान काटिदिएका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मन्जिल मुकारुङलेका अनुसार सिमेन्ट लोड गरिएको प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रक लिएर बूढीगङ्गाबाट रङ्गेलीतर्फ जाँदै थिए ।
विराट चोकमा पुगेपछि ट्रक पार्किङ गरेर नजिकैको पोखरेल होटलमा खाना खानलाई गएका मुखियाले खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापेर बसिरहेका बेला पहिचान नखुलेका दुई युवा आएर धारिलो हतियारले कान काटिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मुकारुङले बताए ।
कुन हतियारले कान काटिएको हो भन्ने पनि खुल्न बाँकी रहेको उनले बताए । ‘काटेको ठाउँमा गहिरो चोट लागेका कारण रक्तश्राव अत्याधिक भएको छ,’ उनले भने, ‘धारिलो हतियारले काटेर कान नै छिनाइदिएको पाइयो ।’
कान काटिएपछि गम्भीर बनेका मुखियाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ भने फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post