इटहरी : रामधुनी नगरपालिका वडा नं. ७ मा रहेको ‘एक्टिभ युथ अफ पञ्चायन’ सामाजिक काममा अग्रसर बन्दै गएको छ ।
अघिल्लो वर्ष स्थापना भएको एक्टिभ युथ अफ पञ्चायनले विभिन्न समयमा समाजमा जनचेतनामुलक कार्यक्रम, रक्तदान कार्यक्रम, शैक्षिक सामाग्री वितरण तथा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
यसैबीच आज (मंगलबार) रामधुनी ७ पञ्चायनमा एक कार्यक्रमको आयोजना गर्दै रक्तदान कार्यक्रम गरिएको छ ।
‘एक्टिभ युथ अफ पञ्चायन’ का अध्यक्ष गोविन्द लामिछानेका अनुसार ३८ पिन्ट रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
‘अघिल्लो वर्षपनि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो, सिकाइको क्रममा छौँ,’ उनले भने, ‘सबैजना स्कुल, क्याम्पस पढ्दै गरेका युवाहरू भएका कारण काम गर्न मन भएपनि आर्थिक अभावका कारण थुप्रै राम्रा कामको सपना मात्रै देख्नुपरेको छ ।’
आर्थिक अभावका कारण सकारात्मक काम गर्न कठिनाई भएपनि आफूहरू निरन्तर सामाजिक काममा अग्रसर बनेको उनले बताए । उनका अनुसार कोभिड महामारीका समयमा रगतको अभावका कारण कसैको ज्यान नजाओस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
संस्थाका सदस्य सुमन अधिकारीले राजनीतिभन्दा माथि उठेर गरिएको काममा साथ नहुने भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘एउटा सामान्य कार्यक्रम गर्न पनि निकै खर्च हुन्छ, राजनीति भन्दा माथि उठेर विशुद्व सामाजिक काम गर्न निकै कठीन छ ।’
संस्थाका सदस्य ओमबहादुर खड्काको संयोजकत्वमा भएको कार्यक्रममा वडाध्यक्ष केशव गौतम प्रमुख अतिथि थिए ।
कार्यक्रममा रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नगेन्द्र पौडेल लगायतले बोलेका थिए भने संस्थाकी सचिव उर्मिला दाहालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।














Discussion about this post