इटहरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मानव हड्डीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्यको पूर्णिया जिल्लास्थित पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनलाई मानव हड्डीसहित सशस्त्र प्रहरीले विराटनगरको भारतीय सिमावर्ती क्षेत्रबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । उनी वीपी प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको प्रहरीले जनाएको छ ।
कार्टुनमा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १–१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८–८ वटा बरामद भएको छ । पक्राउ परेका सिह्नाले अध्ययनका लागि आफूले पाएको मानव कङ्काल पढाई सकेर घर फर्कने क्रममा साथमा लिएर गएको प्रहरीसमक्ष बयान दिएका छन् ।
यद्यपि, प्रहरीले घटना गम्भीर रहेकाले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post