इटहरी : इटहरीको मुख्य चौकमा खुकुरी हानाहान भएको छ । आज (बिहीबार) दिउँसो ४ः३० बजेतिर स्थानीय युवाहरूबीच खुकुरी हानाहान भएको इटहरी प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय युवाहरू चिया खान भेला भएको समयमा आपसमा विवाद हुँदा खुकुरी हानाहान भएको उनले बताए ।
‘फेसबुकमा स्टाटस लेखेको विषयलाई लिएर घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी खड्काले टाकुरासँग भने, ‘एकजना घाइते भएका छन्, उनको विराट नर्सिङमा उपचार भइरहेको छ ।’
उनका अनुसार खुकुरी प्रहारबाट एकजना सामान्य घाइते भएका छन् ।
पक्राउ परेका तथा घाइतेको तत्काल नाम, थर, वतन गोप्य राखेर अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको डीएसपी खड्काले जानकारी दिए ।
उनले भने, ‘दुईदिनअघि मात्रै स्टाटस लेखेको र भेटेर चिया खाउँ भनी विवाद बनाएको भन्ने खुलेको छ, हामीले अनुसन्धान गरिरहेका छौँ ।’












Discussion about this post