इटहरी : प्रदेश १ को पर्यटन ब्राण्ड नाम, लोगो तथा सेलिङ ब्राण्ड निर्धारण गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको हो ।
व्यवसायी भविस श्रेष्ठ नेतृत्वको कार्यदलले पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा लिम्बूलाई प्रतिवेदन बुझाएको हो । समितिले ‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ स्लोगन छनौट गरेको छ ।
यस्तै, पर्यटन लोगो पनि फाइनल गरेको छ भने विभिन्न जिल्लालाई एउटा एउटा वस्तु उत्पादनको लागि छनोट गरेको छ ।
कार्यदलका संयोजक श्रेष्ठले ५० दिन लगाएर कार्यदलले प्रतिवेदन बुझाएको जानकारी दिए ।
प्रदेश १ का १३७ पालिकाहरूमा नै पालिकाको मुख्य ब्राण्डको खोजी गरेकोमा ११२ वटा पालिकाको पर्यटकीय गन्तव्य र ब्राण्डहरु समेटेर प्रतिवेदन सरकारलाई बुझाइएको उनले बताए ।
श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलमा जीतबहादुर राई, दोर्जे सुशील शेर्पा र कोशल चेम्जोङ रहेका थिए । सदस्य सचिवमा मन्त्रालयले एकजना कर्मचारी रहेका थिए ।
सेलिङ ब्राण्डको नारा दिएर कार्यदलले ब्राण्ड निर्धारण गरेको जनाएको छ । जसमा सुनसरीको बेसार, उदयपुरको तेजपत्ता (सिन्कौली), खोटाङको घँघरुको लौरो, धनकुटाको एभोकाडो, भोजपुरको खुकुरी, सोलुखुम्बुको लुक्ला बिन्स, ताप्लेजुङको छुर्पी, संखुवासभाको अल्लो, पाँचथरको अलैँची, इलामको चिया, तेह्रथुमको ढाकाको कपडा, झापाको सुपारी र मोरङको माछा ब्राण्ड भएको कार्यदलले मन्त्र लिम्बूलाई बुझाएको हो ।
ब्राण्डिङ बिक्री गरी प्रदेश १ लाई आम्दानीसँग जोड्न सकिने बताइएको छ । कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री लिम्बूले यसलाई कार्यान्वयनमा ल्याइने बताइन् ।
स्थानीय पहिचानलाई उत्पादनसँग जोड्ने र बजारीकरणले व्यापार प्रवद्र्धन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनको भनाई छ ।
Discussion about this post