झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थित इलाका प्रहरी कार्यालय काकडभिट्टाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
शुक्रबार (आज) एक कार्यक्रमबीच प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताकोसुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भएमा मात्रै नागरिक सुरक्षित हुने बताए ।
‘अझ सीमा क्षेत्रमा विशेष सुरक्षा अपनाइयो भने देश सुरक्षित हुन्छ, देशका अन्य भागपनि सुरक्षित हुन्छन्, मन्त्री कार्कीले भने, ‘सीमामा रहेको चौकीमा गरिने व्यवहारले देशको परिचय सुरु हुन्छ । त्यसकारण सीमा क्षेत्रमा अपराधीहरूको खुट्टा काँप्नुपर्छ र सर्बसाधरणको छाती फुक्नुपर्छ ।’
मन्त्री कार्कीले सङ्घीयता आएपछि प्रदेशका विभिन्न ठाउँमा प्रहरी चौकीहरू निर्माण गरेको र कतिपय ठाउँमा निर्माणको चरणमा रहेको बताए ।
उक्त भवन प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजन भएको २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँ ६८ पैसाको लागतमा निर्माण भएको हो ।
सोही कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरीले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोस र ऊर्जाका साथ सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधिको नियन्त्रण गरी नागरिकहरूको सुरक्षामा खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।














Discussion about this post