इटहरी : इटहरीको मुख्य चौकमै धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या गरिएको छ ।
शनिबार साँझ इटहरी ६ स्थित नेशनल गल्ली नजिकै सिटी सफारी चालकमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सफारी चालकको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
हतियार प्रहारबाट इटहरी ५ बस्ने ४६ वर्षीय सफारी चालक भुने चौधरीको बायाँ हात छिनेको अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डीएसपी खड्काले बताए ।
‘शनिबार साँझ घटना भएको र बायाँ हात छिनेको थियो, तत्काल उपचारका लागि पठाइएपनि साँझमै मृत्यु भयो,’ डीएसपी खड्काले टाकुरान्यूजसँग भने, ‘घटनामा संलग्न एक सहयोगीलाई पक्राउ गरेका छौँ, मुख्य व्यक्ति राम भुजेल फरार रहेकाले चारैतिर खोजी कार्य गरिरहेका छौँ ।’
चौधरीको बायाँ हात घटनास्थलमै खसेको थियो । को २ ह ४७४६ नम्बरको सिटी सफारी चालक रहेका चौधरीलाई इटहरी ५ कै राम भुजेलले हतियार प्रहार गरेका थिए । घटनामा संलग्न हुनसक्ने आशङ्कामा अन्य केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
चौधरी र भुजेल ज्वाईँ जेठान रहेको र यसअघि शनिबार दिउँसो पनि पारिवारिक छलफल भएपनि साँझको समयमा टेम्पो चालक रहेका भुजेलले सफारी चालक चौधरीमाथि हतियार प्रहार गरेका हुन् ।
‘उनीहरूबीच पारिवारिक सम्बन्ध रहेको र गाउँमा पनि पारिवारिक सम्बन्धबारे छलफल भएको रहेछ,’ खड्काले भने, ‘घटना हुनुकै कारणबारे नखुलेपनि हामीले अनुन्धान गरिरहेका छौँ, आज दिउँसोसम्म केही विवरण खुल्नेछ ।’
यो पनि – इटहरीमा टेम्पो चालकले सफारी चालकको हातमा खुकुरी प्रहार गरेपछि…
Discussion about this post