इटहरी : नेकपा एमाले सुनसरीका पूर्व अध्यक्ष तथा इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले जग्गा हडपेपछि अहिले राजनीतिक फण्डा बनाइएको छ ।
नेकपा एमाले परित्याग गरी माओबादी केन्द्र प्रवेश गरेका चौधरीलाई अहिले सत्ता गठबन्धनको तर्फबाट माओबादी केन्द्रले सुनसरी क्षेत्र नं. २ (क) मा प्रदेशसभाको उम्मेदवार बनाएको छ ।
इटहरीका प्रदीपकुमार खतिवडाको नाममा रहेको उक्त जग्गा द्वारिकलालले हडपेपछि पीडितले पुरिदिन माग गरेका छन् ।
इटहरी १७ बालग्राममा रहेको ८ (घ) नक्सा नम्बरको कित्ता नं. ६०६ को जग्गा चौधरीले करीब दुई महिनाअघिदेखि हडपेर माछा पालन गरेको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशितपछि केही दलहरूले राजनीतिक फण्डा बनाउन खोजेका छन् ।
इटहरीमा मेयरको कार्यकाल सकिएपछि एमालेमै रहँदा उनले सो जमिन हडपेका थिए । द्वारिकलालले जग्गा हडपेर माछा पालन गरेपछि पीडितले गत भदौ २७ गते इटहरी उपमहानगरपालिकामा निवेदन दर्ता गरेका थिए । जसबेला द्वारिकलाल एमालेमै रहेका थिए । उनी माओबादी केन्द्र प्रवेश गर्ने हल्ला भएपनि औपचारिक रूपमा प्रवेश गरेका थिएनन् ।
सत्ता गठबन्धनको भागमा सुनसरी २ (क) माओबादीले मागेपछि द्वारिकलाल गत असोज १६ गते पार्टी अध्यक्ष प्रचण्डबाट औपचारिक रूपमा माओबादी केन्द्र प्रवेश गरेका थिए । माओबादी केन्द्र प्रवेश गरेको एक सातामै उनी गत असोज २३ गते प्रदेशसभाको उम्मेदवारी दिएका छन् ।
‘कतिपयले चुनावको बेला राजनीतिक फण्डा बनाएको भनेर फोनहरूमा दबाब आइरहेका छन्,’ पीडित प्रदीपका छोरा अनमोलले समाचार प्रकाशित भइसकेपछि भने, ‘को बाट र कुन पार्टीबाट सञ्चालित भएको भनेर दबाब आइरहेको छ, त्यसबेला एमालेमै रहेको समयमा द्वारिकलालले जग्गा हडप्नु र पछि माओबादीबाट उम्मेदवार बन्नु, त्यसैबेला मनोनयन हुन्छ भन्ने कुरा हाम्रो सरोकार होइन ।’
उनले उपमहानगरले पत्र काटेको एक महिना पूरा भएपछि मात्रै आफूहरूले सो विषयमा सार्वजनिक गरेको बताए ।
पूर्जा अनुसार २०६३ जेठ १ गते नाथुराम चौधरीको नाममा रहेको जग्गा प्रदीपको नाममा पास भएको देखिन्छ । नाथुराम द्वारिकलालका बुबा हुन् । उनीहरूले २०६३ सालमा खतिवडालाई एक कट्ठा जमिन बेचेका थिए ।
‘त्यसबेला जमिन बेच्नुुभयो, अहिले उल्टै हडप्न खोज्नुभयो,’ खतिवडाले भने, ‘हामीले इटहरी उपमहानगरपालिकामा भदौ २७ गते निवेदन दियौँ, एक महिनाको म्याद सकिएपछि असोज २८ गते सार्वजनिक गरेका हौँ ।’
एक महिनाको समय दिएपनि द्वारिकलालले चासो नदेखाएपछि आफूहरू आजित भएको पीडितले बताउँदै आएका छन् ।
उता, चौधरीले भने आफूले यस विषयमा नबोल्ने र उपमहानगरको फैसला पर्खिने बताउँदै आएका छन् ।
चौधरी इटहरी उपमहानगरपालिकाको मेयर हुँदा पटकपटक विवादास्पद छवि बनाएका व्यक्ति हुन् ।
नेकपा एमालेबाट ०७४ सालमा इटहरीको मेयरमा निर्वाचित भएका उनी करीब एक वर्षअघि भएको नेकपा एमाले सुनसरीको नवौँ अधिवेशनमा ८० मत मात्रै ल्याएर पराजित भएका थिए । उनी त्यही समयदेखि एमालेसँग रुष्ट थिए ।
यो पनि _इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले अर्कैको जग्गा हडपेर माछा पालन गरेपछि… (भिडियोसहित)
Discussion about this post