इटहरी : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रहेकी नेकपा एमालेकी नेत्री भगवती चौधरीले आफ्नो एजेण्डा सार्वजनिक गरेकी छन् ।
विभिन्न बुँदागत रूपमा एजेन्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छन् ।
राजनीतिमा लाग्नु अगावै आम सर्वसाधरणलाई उद्यमशील बनाउन सक्रिय भएकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना रहेको सुनाइन् । त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने उनको एजेन्डा रहेको छ ।
महिलालाई आत्मनिर्भर, स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विशेष पहल गर्ने बताएकी छन् ।
चौधरीले एक गाउँ, एक उद्योग स्थापनालाई विशेष जोड दिएकी छन् । पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङ रोडको अवधारणा कार्यान्वयन गर्ने बताउँदै गाउँलाई शहर र शहरलाई व्यवस्थित गर्न उनले आफ्नो एजेन्डामा प्रस्तुत गरिन् ।
अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुकासाथै भूमीहिन नागरिकलाई सम्मान र समाजिक सुरक्षा कार्यान्वयनमा जोड दिने उनले बताइन् ।
चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने बताइन् ।
नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा प्रतिष्पर्धा गर्न लागेकी चौधरीले सर्वसाधारणको आर्थिक स्तर उकास्नका लागि सकारात्मक भूमिका खेल्ने बताउँदै आएकी छन् ।
दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा गच्छदारले झिनो मतान्तरले बाजी मारेका थिए ।
गच्छदारले प्रहरी प्रशासन कब्जामा लिएर धाँधली गरी चुनाव जितेको आरोप लगाउँदै आएकी चौधरीले यसपटक यो क्षेत्रका मतदाता परिवर्तनको पक्षमा उभिएको बताउँदै चुनावमा होमिएकी छन् ।














Discussion about this post