इटहरी : प्रदेश १ मा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक मत परिणाम आएसँगै नेपाली कांग्रेसले १२ सिट पाउने भएको छ ।
प्रत्यक्षतर्फ १७ सिटमा विजयी भएको नेपाली कांग्रेसले १२ जना समानुपातिक कोटाबाट चयन गर्नेछ ।
कांग्रेसले समानुपातिकतर्फ १२ सिटमध्ये २ पुरुष र १० महिलामा ६ जना आदिवासी जनजाति र ३ जना खसआर्यलाई पठाउनुपर्नेछ । यस्तै दलित, मधेशी र थारु १–१ जनाको प्रतिनिधत्व हुनेछ ।
कांग्रेसको समानुपातिक सूचीमा रहेकामध्ये पुरुषहरुतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका झापाका उद्धब थापा प्रदेशसभा सदस्य बन्ने निश्चित छ । उनी काँग्रेस प्रदेश समितिका सभापति हुन् । कांग्रेसले पाउने अर्को पुरुष कोटामा झापाकै मोहन महर्जनको सम्भावना छ ।
महर्जनलाई प्रदेशसभामा पठाएमा काँग्रेसले आदिवासी जनजातितर्फ थप ५ महिलालाई प्रदेशसभामा पठाउनुपर्छ । पाँचथरकी ४४ वर्षीया मैया श्रेष्ठ, सोलुखुम्बुकी ४० वर्षीया डोल्मा तामाङ, उदयपुरकी ६२ वर्षीया लिलाकुमारी राई, सुनसरीकी ४२ वर्षीया ममता मगर तामाङ र मोरङकी ४७ वर्षीया शोभा चेम्जोङ पालुङ्वा प्रदेशसभा सदस्य बन्नेछन् । पुरुषतर्फका महर्जनलाई कांग्रेसले प्रदेशसभामा नपठाएमा सुनसरीकी अनु गुरुङले अवसर पाउनेछिन् ।
खसआर्यतर्फ पुरुषमा उद्धब थापालाई पठाएपछि कांग्रेसले थप २ महिला मात्र खसआर्यबाट प्रदेशसभामा पठाउनेछ । उनीहरू धनकुटाकी ५४ वर्षीया इन्दिरा थापा र इलामकी ४९ वर्षीया खगेश्वरी पौडेल छन् ।
कांग्रेसबाट दलित कोटामा सनुसरीकी ४२ वर्षीया सुनिताकुमारी गुरुङ, थारु कोटामा सुनसरीकै ४२ वर्षीया सुनिता गच्छदार र मधेशी कोटामा झापाकी ४८ वर्षीय लखिकुमारी गणेश प्रदेशसभा सदस्य बन्नेछन् । गणेश र सुनसरीकी गुरुङ अल्पसंख्यक पनि हुन् ।
निर्वाचन आयोगले बाँडफाँड गरेको सिट अनुसार दलहरुले समानुपातिकतर्फ विजयी हुने उम्मेदवारको नाम आयोगमा बुझाउनुपर्छ ।
रातोपाटीको सहयोगमा ।



















Discussion about this post