इटहरी : इटहरीमा रहेको एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले कला, प्रविधि तथा विविधतासम्बन्धी प्रदर्शनी गरेको छ ।
एसओएस हर्मन माइनर विद्यालयका विद्यार्थीहरूको सहभागितामा बृहत् प्रदर्शनी आयोजना गरिएको हो ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवबाट समुद्घाटन भएको कला, विविधता र विविधतासम्बन्धी प्रदर्शनी कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले विविध प्रस्तुति गरेका थिए ।
सैद्धान्तिक शिक्षालाई प्रयोगात्मक बनाउने उद्देश्यले हरेक साल आयोजना गरिने उक्त कार्यक्रमले विद्यार्थीहरूलाई स्वरोजगार र सिपयुक्त बनाउन सहयोग पुर्याएको विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले बताए ।
प्रदर्शनीले बालबालिकाका रुचि र क्षमतालाई अभिव्यक्त गर्न सहयोग गर्ने हुँदा प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरमै समावेश गरेर यसखालको कार्यक्रम आयोजना गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीले बताए ।
प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट, वाटरबोट, खगोल-भूगोल, थारूहरूका कलाकृति, पर्यावरण, हस्तकला, ज्वालामुखीलगायत विभिन्न एक सय प्रदर्शनी राखेका थिए ।
प्रदर्शनीमा अभिभावकहरू, इटहरीका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, व्यवस्थापन समितिका सदस्य एवम् अभिभावक प्रतिनिधि तथा स्थानीयवासीहरूले समेत अवलोकन गरेका थिए ।
‘विद्यालय तहमा यसखाले प्रदर्शनी कमै हुने, भएका पनि यत्तिको गुणात्मक र विषयक्षेत्रसँग सम्बन्ध राख्ने विरलै हुन्छन्’ इटहरी म्याट्रिक्सका कलाकार तथा बाह्य परिवेक्षकका रूपमा सहभागी कलाकार विक्रमश्रिले बताए ।
अबको शिक्षा जीवनोपयोगी र प्रयोगशील हुनुपर्ने कुरा एसओएसबाट सबैले सिक्नुपर्ने विक्रमश्रिको भनाइ थियो ।
‘लिखित परीक्षाबाट मात्रै विद्यार्थीको मूल्याङ्कन र निर्णय गरिने हुँदा वैयक्तिक प्रतिभाको खोजी नै नगर्ने हाम्रो शिक्षानीति तथा अभ्यासमा सुधार गर्दै अबका दिनमा यसखाले प्रदर्शनीले स्वरोजगारी र सिपमूलक बनाउने, स्वदेशमै केही उपार्जन गर्न मद्दत पुग्ने हुँदा यस्तो अभ्यास सबैले गर्नुपर्ने’ प्रदर्शनी कार्यक्रमका संयोजक भेषराज गौतमले बताए ।
इटहरी लगायत देशभर सात ठाउँमा सञ्चालन भएको हर्मन माइनर स्कूल गुणस्तरीय शिक्षामा अब्बल मानिँदै आएको छ ।
आश्रयहीन बालबालिकाको आवासीय हेरचाहसहित समुदायका बालबालिकालाई पनि शिक्षा दिँदै आएको एसओएस हर्मन माइनर विद्यालय विश्वभर १३५ देशमा सञ्चालनमा रहेको छ ।
प्रदेश नं. १ मा इटहरी बालग्राममा सञ्चालित यस विद्यालय सबैको आकर्षणको केन्द्र बन्ने गरेको छ ।














Discussion about this post