इटहरी : सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी एमाले नेत्री भगवती चौधरी मन्त्री बनेकी छन् ।
पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्व सरकारको महिला तथा बालबालिका मन्त्रालयको जिम्मा चौधरीले पाएकी हुन् ।
संसदीय चुनावमा कहिल्यै हार नव्यहोरेका नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई तेस्रो प्रयासमा पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
गत मंसिर ४ मा भएको निर्वाचनमा चौधरीले गच्छदारलाई पराजित गरेकी थिइन् । २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी त्यसबेला वन तथा भू–संरक्षण राज्यमन्त्री बनेकी थिइन् ।
दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को निर्वाचनमा गच्छदारसँग पराजित भएकी भगवतीले ०७९ मंसिर ४ मा भएको निर्वाचनमा बाजी मारेकी थिइन् ।
सुनसरीको दुहबी नगरपालिका वडा नं. २ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान हालको गढी गाउँपालिकामा पर्छ । ०४६ सालको जनआन्दोलनमा सहभागी भएकी उनी ०४८ सालदेखि नेकपा एमालेको सदस्यता लिएकी हुन् ।
०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य, ०७० सालमा कोसी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भइसकेकी छन् ।
हाल उनी नेकपा एमाले सुनसरीका सह–इञ्चार्ज समेत हुन् ।














Discussion about this post