धरान : इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूको संस्था डेल्टाले तीनदिने प्राविधिक मेला आयोजना गरेको छ ।
विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उदेश्यले तीनदिने प्राविधिक मेला आयोजना गरिएको हो ।
बिहीबार (आज) प्रदेश १ का सांसद बुद्विराज राजभण्डारीको प्रमुख आतिथ्यमा डेल्टाको प्राविधिक मेला उद्घाटन भएको हो । मेला माघ ५, ६ र ७ गते सञ्चालन हुने बताइएको छ ।
दीगो आधुनिक कृषि भन्ने सन्देशका साथ सुरु भएको मेलामा कृषि र प्रविधिका विभिन्न विधामा प्रतियोगिता पनि आयोजना भएका छ्न् ।
ग्रेडिङ मेसिन इनोभेसन च्यालेन्ज, सुधारिएको गोठ, रोबोथोन र डेल्टाथोन कार्यक्रमका मुख्य आकर्षक रहेको डेल्टाका बिजनेस सह–संयोजक विवेक न्यौपानेले बताए ।
प्रदर्शनीमा ७० वटा स्टलहरू छन् । विद्यार्थीले बनाएका कृषि प्रविधिका विभिन्न सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीमा पुल्चोक इन्जिनियरिङ क्याम्पस, मदन भण्डारी कलेज उर्लाबारी, पुसेट कलेज विराटनगर, बेस्टर क्याम्पस समेत नेपालका १० वटा इन्जिनियरिङ कलेज सहभागी छन् ।
इन्जिनियरिङ तथा प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरू एवं कक्षा १२ विज्ञानका विद्यार्थीहरूले तयार गरेका नयाँ प्रविधिहरू प्रदर्शित रहेका छन् ।
प्रदर्शनीले सहरी कृषि, कृषिमा यान्त्रीकरण, आइटी र यसको स्वचालन, खाद्य उत्पादन र प्रशोधन प्रविधिको जानकारी दिँदै कृषकलाई कृषि कार्यमा ऊर्जा प्रदान गर्ने विश्वास गरिएको डेल्टाका अध्यक्ष सम्राट मेहताले बताए ।
Discussion about this post