धरान : धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत शुक्रबार भएका खेलहरू सम्पन्न भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
२३ औं संस्करणको टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. १, ५, १५, ११, १६, १४, २० र १७ क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । यी टोलीले धरान उपमहानगरपालिकाले आयोजना गर्ने सुपर ८ लिग समेत खेल्नेछन् ।
शुक्रबार भएको पहिलो खेलमा धरानको वडा नं. १५ ले वडा नं. १२ लाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
वडा नं. १५ ले ११ नं. सँग क्वाटरफाइनलमा प्रतिष्पर्धा गर्नेछ । १५ वडाका लागि प्रयाग देवान, सुगम जिमी र शुभम कार्कीले गोल गरे ।
खेलको म्यान अफ द म्याच १५ नं. वडाका सुगम जिमी घोषित भए । उनलाई नगद एक हजार पाँच सय र ट्रफी पुरस्कार प्रदान गरियो । शुक्रबारै भएको दोस्रो खेलमा वडा नं. २० ले वडा नं. १९ लाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
निर्धारित ८० मिनेटको खेल बराबरी भएपछि थप गरिएको समयमा २० नं. वडाले ३ गोल गरेको थियो । उसका लागि गौरब राईले २ तथा मनोज राईले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच गौरब राई घोषित भए । उनलाई नगद एक हजार पाँच सय र ट्रफी पुरस्कार प्रदान गरियो ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Discussion about this post