इटहरी : सुनसरीको इनरुवामा १० दिने चलचित्र महोत्सवको तयारी गरिएको छ ।
प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा फागुन ७ गतेदेखि १७ गतेसम्म इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुन लागेको हो ।
इनरुवामा हुने कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।
कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम, पुस्तक विमोचन, बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, नेता भर्सेज अभिनेता फुटबल लगायत अन्य विविध कार्यक्रमहरू आयोजना हुने प्रधानले बताए ।
कार्यक्रममा प्रदेश नं. १ को नाम उच्च राख्न योगदान पुर्याउने चलचित्र क्षेत्रका व्यक्तिहरूलाई प्रदेश १ तारा नामले सम्मान गरिने बताइएको छ ।
कार्यक्रममा सहभागीहरूलाई बराहक्षेत्र नगरपालिकामा रहेको प्रस्तावित फिल्म सिटीको भ्रमण गराउने कार्यक्रम समेत रहेको छ ।
Discussion about this post