इटहरी : इटहरी उपमहानगरका नगर प्रहरीले हाटबजारमा ज्यादती गरेको पाइएको छ । इटहरीका विभिन्न हाटबजारमा नगर प्रहरीहरूले व्यापारीमाथि अभद्र व्यवहार गर्दै ज्यादती गरेको पाइएको हो ।
सोमबार इटहरी २० तरहरास्थित बिहीबारे हटियामा नगर प्रहरीहरूले व्यापारीहरूले टाँगेको पाल फाल्दै ज्यादती गरेका हुन् ।
बजारमा पाल नटाङ्न अनुरोध गरेपनि व्यापारीहरूले अटेर गरेको भन्दै नगर प्रहरीहरूले आफैँ पालको डोरी काट्ने, जथाभावी रूपमा हप्कीदप्की गर्ने गरेका छन् ।
सो कारण आँफूहरू आजित भएको व्यापारीहरू बताउँछन् । ‘पाल नटाँगिकन दिनभर व्यापार गर्नका लागि घामले गर्दा समस्या हुन्छ,’ एक व्यापारीले भनिन्, ‘नगरपालिकाले गरिखान पनि दिएन ।’
सडक छेउमा हाटबजार लाग्दा समस्या हुनेभए उपमहानगरपालिकाले विकल्प दिनुपर्ने व्यापारीहरू बताउँछन् ।
‘बट्टी तिर्नुपर्छ, बट्टी तिरेपछि व्यापारीको हक, अधिकार हुनुपर्ने हो,’ हटियामा भेटिएका एक व्यापारीले भने, ‘नगरपालिकाले गरेको निर्णय केही हदसम्म ठिक होला, तर ज्यादति नै गर्नुभएन ।’ आँफूहरूले बट्टी तिरेपछि अधिकार पाउनुपर्ने अन्यथा उपमहानगरले हटिया व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘सडक छेउमा हटिया लगाउँदा समस्या हुन्छ भने उपमहानगरपालिकाले समाधान पनि गर्नुपर्छ ।’ व्यापार गर्नका लागि आँफूहरू डर, त्रासमा बाँच्नुपरेको व्यापारीहरूको भनाइ छ ।
नगर प्रहरीले हटियामा ‘क्रस’ गरेर पाल नटाँग्न र सिदा टाँग्न अनुरोध गरेको प्रतिक्रिया दिएका छन् ।
यता, बजार व्यवस्थापन समिति तरहराका अध्यक्ष रामबहादुर गिरीले भने बजार व्यवस्थापनका लागि यसअघि तरहराको जडिबुटी छेउमा पहल गरेपनि प्रदेश सरकारले अस्वीकार गरेको बताए ।
‘नगरपालिकाले गरेको निर्णय हामीले मान्नुपर्छ, तर विकल्प खोज्नुपर्छ,’ उनले भने, ‘बजार व्यवस्थापन समितिले छेउ कुनामा बजार लगाउनु भनेर अनुरोध गरेको थियो, तर धेरै व्यापारी भएका कारण समस्या भयो ।’
बजार हुँदै चोकतिर आउने सडकमा दमकल, एम्बुलेन्स र प्रहरीको गाडी आवतजावत गर्न समस्या हुने गरेको उनले बताए । ‘पाल तेर्सो टाँग्दा गाडी छिर्दैनन्, मनखुशी हटिया लाग्छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘५० वर्षदेखि लाग्दै आएको बजार एकैपटक व्यवस्थापन गर्न कठिन हुन्छ ।’
उनका अनुसार तरहरामा विं सं. २०२९ सालदेखि बजार लाग्दै आएको छ । सुरुआती दिनमा बास्केटबल कोर्टमा हटिया लाग्थ्यो । तर, पछिल्लो समय जनघनत्व बढेसँगै व्यापारीहरूको पनि चाप बढेका कारण सडक छेउमै हटिया लाग्दै आएको दुई दशक बित्यो । स्थानीय सरकारले हटिया व्यवस्थापन गर्न नसक्दा व्यापारीहरूले समस्या खेप्दै आएका छन् ।
उता, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले स्थानीय सरकारले उवासंघलाई पनि राखेर छलफल गर्नुपर्ने बताए ।
‘उपमहानरले पेटी खाली गर्ने अभियान सुरु गरेको छ, तर हटियामै गएर व्यवसायीमाथि एक्सनमा उत्रिनु ठिक होइन,’ पराजुलीले भने, ‘कुनै काम गर्नुपूर्व छलफलमार्फत जाँदा पनि हुन्छ, समस्याको समाधान छलफलमार्फत नै हुने हो, एक्सनमा जाँदा समस्या हुन्छ ।’
उनले व्यापारीको समस्या उवासंघको टेबलबाटै समाधान गर्नुपर्नेमा जोड दिए ।
‘व्यापारीहरूले मापदण्ड विपरीत व्यवसाय गर्नुहुँदैन, तर उपमहानगरले पनि विकल्प र व्यवस्थापनका लागि पहल गर्नुपर्छ,’ उनले भने, ‘नगर प्रहरीले स्थलगत गएर व्यापारीलाई डर, त्रास देखाउनु राम्रो होइन ।’ यसै सन्दर्भमा उनले आँफूहरू स्थानीय सरकारको विरोधी नभएको बताए ।
यता, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार हटियामा पाल टाँग्दा समस्या हुँदै आएको छ । पाल नटाँग्दा व्यापारीलाई समस्या हुने र पाल टाँगे सडकमा आवतजावत गर्ने गाडीलाई समस्या हुने गरेको उनले बताए ।
‘यहाँ समस्या दुवै क्षेत्रका मानिसलाई छ, व्यापारी र गाडीमा हिड्नेहरूलाई समस्या छ,’ श्रेष्ठले भने, ‘हामीले यसअघि जडिबुटी नजिकै हटिया व्यवस्थापन गर्ने तयारी गरेका थियौँ, त्यो अधुरो रह्यो ।’ हटिया व्यवस्थापनका लागि व्यापारीहरूसँग छलफल गर्ने उनले प्रतिक्रिया दिए ।
भिडिओ
Discussion about this post