इटहरी : आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ ।
यसैबीच सुनसरीका १० मध्ये सातवटा क्याम्पसमा स्ववियुको निर्वाचन हुने तयारी छ । सोही अनुरूप सुनसरीमा विभिन्न पार्टीसँग आवद्व विद्यार्थी संगठनहरूले निर्वाचनका लागि दर्ता गराएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओबादी निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू क्रान्तिकारी, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले क्याम्पसमा पुगेर संगठन दर्ता गराएका हुन् ।
सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पस, धरानस्थित पिण्डेश्वर क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, इञ्जिनियरिङ क्याम्पस धरान, महेन्द्र बहुमुखी क्याम्पस, चक्रघट्टीको सप्तकोसी बहुमुखी क्याम्पस र सुनसरी बहुमुखी क्याम्पसमा निर्वाचन हुने तयारी छ ।
तर, धरानको पिण्डेश्वर क्याम्पसमा भने विद्यार्थी भर्नाका कारण नेविसंघको तालाबन्दीका कारण चुनावी कार्यतालिका प्रभावित बन्नसक्ने संकेत देखिएको छ ।
खासगरी यी मध्ये इटहरीको जनता बहुमुखी क्याम्पसमा हुने निर्वाचनमा चासोका साथ हेरिएको छ ।
नेपाली कांग्रेस निकट नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराईले अहिले स्ववियु निर्वाचनका लागि तयारी अगाडि बढाइएको बताए ।
‘सुनसरीका सातवटा क्याम्पसमा निर्वाचन हुँदैछ, त्यहाँ रहेका इकाई समितिले अहिले आफ्नो सक्रियता देखाइरहेका छन्,’ उनले भने, ‘चुनावै नआउँदा पनि हामी सक्रिय छौँ, विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्तुत गर्ने किसिमका कार्यक्रम अगाडि सारेका छौँ ।’
यसअघि नेविसंघले सबै क्याम्पसमा खेलकुद कार्यक्रम पनि गर्दै आएको उनले स्मरण गरे ।
स्ववियु निर्वाचनमा गठबन्धन हुने सम्भावना के छ भन्ने प्रश्नमा उनले भने, ‘देशमा राष्ट्रिय सहमतिको कुरा आइरहँदा र यसअघिका अरु निर्वाचनमा पनि गठबन्धन गर्ने प्रचलन रहेका कारण तालमेल हुनसक्छ, त्यसका लागि छलफल भइरहेको छ ।’
उनले तालमेलका लागि कुनै दबाब सिर्जना नभएको तर तालमेल भने हुनसक्ने बताए । कुन विद्यार्थी संगठनसँग तालमेल गर्ने भन्ने यकिन निर्णय नभइसकेपनि विभिन्न विद्यार्थी संगठनसँग छलफल चलिरहेको उनले बताए ।
‘क्याम्पसको भविष्य उज्यालो बनाउनका निम्ति तालमेल हुनसक्छ,’ उनले भने, ‘अहिले विभिन्न विद्यार्थी संगठनबीच छलफल चलिरहेको छ, तालमेलको सम्भावना छ ।’
सुनसरीका सबै क्याम्पसमा सभ्य रूपमा निर्वाचन गर्न आँफू सकारात्मक रहेको उनले बताए ।
‘दुई–दुई वर्षमा हुँदै आएको निर्वाचन लामो समय नभएकाले पनि अहिले विद्यार्थीहरूमा उत्साह बढेको छ,’ उनले भने, ‘सांगठनिक हिसाबमा हामी पहिलो संगठन बन्नेगरी तयारी गरेका छौँ ।’
उनका अनुसार पछिल्लो पटक ७३ सालमा केही क्याम्पसहरूमा निर्वाचन भएको हो । त्यसअघि ६५ सालमा भएको निर्वाचनपछि ७३ मा सबै क्याम्पसमा निर्वाचन नभएकाले पनि अहिले विद्यार्थीहरूमा उत्साह थपिएको उनले बताए ।
नेकपा एमाले निकट अनेरास्ववियु सुनसरीका अध्यक्ष नवराज खड्काले स्ववियु निर्वाचनका लागि तयारी तीव्र भइरहेको बताए । उनले सुनसरीका विभिन्न क्याम्पसमा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु सक्रिय बनेको प्रतिक्रिया दिए ।
‘हामीले अहिले क्याम्पसमा गतिविधि पनि बढाएका छौँ,’ उनले भने, ‘तालमेलको सम्भावना पनि छ, सबै संगठनसँग कुरा भइरहेको छ । अब केहीदिनमै उम्मेदवार टुंगिएपछि थप कार्यक्रम तालिका सार्वजनिक गर्नेछौँ ।’
उनले सुनसरीका सातमध्ये पाँच क्याम्पसमा अखिलले चुनाव जित्ने दाबी गरे ।
माओबादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सुनसरीका अध्यक्ष नवीन दाहालका अनुसार जिल्लाका सात वटै क्याम्पसमा शान्तिपूर्ण र स्वस्थ ढंगबाट निर्वाचन हुने तयारी छ ।
‘पहिलो पटक २८ वर्षे उमेर हदसहित मिश्रित प्रणालीमा निर्वाचन हुँदैछ,’ दाहालले भने, ‘अघिल्ला चुनावभन्दा यसपटक रोचक र फरक किसिमबाट हुनेछ ।’
उनले स्ववियु चुनाव नहुँदा राजनैतिक वितृष्णा पैदा भइरहेकाले अबको निर्वाचनबाट तीक्तता मेटिने तर्क गरे । उनले विद्यार्थी संगठनबीच तालमेल हुनसक्ने समेत बताए ।
Discussion about this post