तरहरा : इटहरी १९ मा रहेको फुजिसान सगरमाथा इङ्लिस बोर्डिङ स्कुलले अभिभावक दिवस मनाएको छ ।
सोमबार (आज) एक कार्यक्रमको आयोजना गरी विद्यालयले अभिभावक दिवससँगै पुरस्कार वितरण गरेको हो ।
विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठका अनुसार उक्त कार्यक्रमको अवसर पारेर विद्यालयले वर्षभरी गरेको अतिरिक्त क्रियाकलापको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरियो । साथै, विद्यार्थीहरूले आँफूभित्र रहेका प्रतिभा समेत प्रस्फुटन गरेका थिए ।
‘हामीले विद्यालयमा यसअघि पनि विभिन्न अतिरिक्त कार्यक्रम आयोजना गर्दै आएका छौँ,’ श्रेष्ठले भने, ‘आगामी दिनमा पाठ्यक्रमसँगै अन्य अतिरिक्त क्रियाकलापमा जोड दिनेछौँ, ता कि भविष्यमा बालबालिकाहरूले लिएका व्यवहारिक शिक्षा जीवनउपयोगी होस् ।’
उनका अनुसार यसअघि गत असारमा विद्यार्थीहरू स्वयम्ले धान रोपेका थिए । धान रोप्ने, गोड्ने, काट्ने र बजार व्यवस्थापनसम्म विद्यार्थी स्वयम्ले अग्रसर भएका थिए । विद्यार्थीमा भएको क्षमतालाई व्यवहारिक सिकाइका रूपमा सिकाईँदै आएको उनले बताए ।
कार्यक्रममा विद्यार्थीहरूले हार्मोनियम, सारङ्गी र मादलबाट राष्ट्रिय गानको धून बजाएका थिए । साथै, विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले नृत्य समेत प्रस्तुत गरेका थिए ।
सो कार्यक्रमको अवसरमा विद्यालयले यसअघि गरेको खेलकुद सप्ताह कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका अध्यक्ष लालबहादुर श्रेष्ठ, विद्यालयका कन्सल्टेन्ट सूर्यप्रसाद चौलागाईँ र प्रबन्ध निर्देशक राकेश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक कुसुम राईका अनुसार विद्यालयले हाल कक्षागत पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर अध्यापन गराउँदै आएको छ ।
Discussion about this post