धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको चौथो वर्ष (कृषि संकाय) मा अध्ययनरत नवीन श्रेष्ठ (ईशान) आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको उम्मेदवार छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) र समाजवादी विद्यार्थी युनियनबीच तालमेल भएको छ । कूल एक हजार ९४१ मतदाता रहेको यो क्याम्पसमा चुनावी तयारी के छ, विद्यार्थीका प्रतिक्रिया कस्ता छन् भन्ने सन्दर्भमा श्रेष्ठसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश ।
१. स्ववियु निर्वाचन नजिकिदै छ, तयारी कस्तो छ ?
स्ववियु निर्वाचन नजिकिदैँ जाँदा हामीले तयारी तीव्र बनाएका छौँ । अहिले नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनबीच गठबन्धन भएका कारण हामी दुवै पक्षका विद्यार्थीहरूले तयारी तीव्र बनाएका छौँ ।
साथै, अन्य संगठनका साथीहरू पनि निर्वाचनमा होमिनुभएको छ । यससँगै हामीले विद्यार्थीको मनोभावना बुझ्ने काम पनि गरिरहेका छौँ ।
२. विद्यार्थीहरूमाझ जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
खासगरी म सबै विद्यार्थीहरूमाझ परिचित छु । यसकारण पनि मलाई चुनावी माहोलमा होमिनका लागि सहज भएको छ । विद्यार्थीमाझ मत माग्ने क्रममै जाँदा पनि व्यक्तिगत रूपमा चिनाउनुपर्ने बाध्यता छैन । यसैले पनि सबै विद्यार्थीमाझ जाँदा सकारात्मक प्रतिक्रिया पाएको छु ।
विद्यार्थीहरूले विगतमा मैले गरेका कामको मूल्यांकन गर्नुभएको छ । मैले विद्यार्थीका लागि गरेका काम र उनीहरूका समस्या समाधानका निम्ति मैले गरेको लगावले पनि सकारात्मक प्रतिक्रिया पाएको छु ।
३. कतिपय विद्यार्थीहरूले तपाईंको पढाइ चौथो वर्ष भनिरहेका छन्, अध्ययन सकिने बेला चुनावी मैदानमा होमिनुभयो । यसको कारण के ?
४ वर्षमा मैले यहाँ पढ्दै गर्दा कक्षागत सिकाइसँगै अन्य धेरै कुरा सिक्न पाएँ । यहाँका समस्या नजिकबाट नियालिरहेको छु । र, समस्या समाधानका निम्ति निरन्तर पहल गरिरहेको छु ।
४ वर्षको भोगाइ र सिकाइमा मैले समस्या मात्र होइन त्यसका वैकल्पिक समाधान पनि देखेको छु । मेरो कार्यकालभरी म यही विद्यालयमा रहेर काम गर्नेछु । दुई वर्ष क्याम्पसमा बस्नेभन्दा पनि दुई वर्ष यहाँ बसेर परिवर्तन गर्नसक्नेलाई सबैले मत दिएर जिताउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।
४. सामुदायिक र प्राविधिक क्याम्पसमा फरक पर्छ । स्ववियुले तपाईंको नेतृत्व पायो भने थप के काम हुन्छ ?
सामुदायिक क्याम्पस र प्राविधिक क्याम्पसमा धेरै नै फरक पर्छ । प्राविधिक क्याम्पसमा सामुदायिक क्याम्पस जति राजनीतिक प्रभाव हुँदैन । हाम्रो क्याम्पसमा विभिन्न ७ संकायहरू छन् । र, सबैका आफ्ना–आफ्ना क्षेत्रहरू रहेका छन् ।
स्ववियुमा जाँदै गर्दा सबै संकायको नेतृत्व लिनुपर्ने हुन्छ । यहाँ सबै संकायका आ–आफ्ना समाजहरू छन् । र, सबैले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेका छन् । यसैबीच म स्ववियुको नेतृत्व गर्दैगर्दा डेल्टाले आयोजना गर्ने प्राविधिक मेलालाई राष्ट्रिय स्तरमा पु¥याएर सबै समाजलाई एकजुट बनाएर ग्राण्ड टेक्निकल फेस्टिबल आयोजना गरेर राष्ट्रिय स्तरमा पु¥याउनेछु ।
मैले यस क्याम्पस छिर्दै गर्दादेखि आजसम्म एकदिन आफ्नो व्यक्तिगत स्वार्थ भनेर हिँडेको छैन । रातको समयमै पनि कोही विद्यार्थी बिरामी पर्दा होस् वा अन्य समस्या हुँदा मेरो जहिल्यै, जतिबेला पनि उपस्थिति हुँदै आएको छ । यो खट्ने शैली सबै विद्यार्थीले मूल्यांकन गरिरहनुभएको छ ।
५. तपाईंका चुनावी एजेन्डा संक्षिप्तमा ?
विशेषतः शिक्षा सुधार, स्वास्थ्य समस्या समाधान, महिलामैत्री विद्यालय, खेलकुदमैत्री विद्यालय, प्रविधिमैत्री, वातावरण तथा सरसफाई, संस्कृति तथा पर्यटन लगायतका कुराहरू समेटेको छु ।
६. अन्त्यमा केही ?
निर्वाचन स्वच्छ प्रतिस्पर्धा हो । परिणाम जे आए पनि स्वीकार गर्नुपर्छ । तर, मलाई विश्वास छ, मेरो निरन्तरको विद्यार्थीको समस्या समाधानमा गरेको पहल, मिहिनेत, संघर्ष र विद्यार्थीका समस्या सम्बोधनमा मैले गरेका अथक प्रयासले विद्यार्थी साथीहरूले मलाई न्याय गर्नुहुनेछ ।
Discussion about this post