इटहरी : नेपाल दशनामी समाजको छैटौं राष्ट्रिय महाधिवेशन यही चैत्र ३ र ४ गते इटहरीमा हुने भएको छ ।
समाजले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
महाधिवेशनमा प्रमुख अतिथि अनन्त श्री विभुषित प्रथम महिला जगत गुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराज रहने नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रुद्र गिरीले जानकारी दिए ।
वैदिक सनातन धर्मका आरध्यदेव शिवका सन्तान, आद्य गुरु शंकराचार्य का अनुयायी दशनाम (गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, तीर्थ, आरण्य, पर्वत, आश्रम)को छाता संस्था नेपाल दशनामी समाज भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ ।
समाजलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यका साथ २०५३ सालको महाशिवरात्रीको अवसर पारेर संस्थाको तदर्थ समिति गठन भएको थियो । २०५४ भाद्र ११ गते स्थापना भएको संस्थाको हाल ७ वटा प्रदेश र ६७ जिल्लामा संगठन विस्तार भएको छ ।
इटहरीमा हुने महाधिवेशनमा आउने प्रतिनिधिका लागि आवास लगायतको व्यवस्थापनमा आयोजक जुटेको छ ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी दशनामी समाजको हक, अधिकार, पहिचानका सन्दर्भमा समसामयिक प्रस्ताव पारित हुने बताइएको छ ।



















Discussion about this post