इटहरी : इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो सेमिफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङले गत वर्षको लिग बिजेता समेत रहेको मछिन्द्र फुटबल क्लब काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
आज (बुधबार) भएको खेलमा सगरमाथाले मछिन्द्रलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलका लागि सुरक्षित स्थान तय गरेको हो ।
सगरमाथाका लागि खेल सुरु भएको ४ मिनेटमै राजीव लोप्चनले सुरुआती गोल गरे । यस्तै, खेलको १२ मिनेटमा सगरमाथाका लागि स्टेफिनले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा २-० भएको खेलमा दोस्रो हाफपछि सगरमाथाले पुनः १ गोल थपेको थियो ।
खेलको ५१ औं मिनेटमा सगरमाथाका मेस्सुकेले १ गोल गर्दै टिमलाई तेस्रो गोल दिलाए ।
उता, मछिन्द्रका लागि भने खेलको ८९ औं मिनेटमा टिम क्याप्टेन आफिज ओलावालेले पेनाल्टीमार्फत १ गोल गरे । मछिन्द्रका लागि यो गोल नै शान्तवना गोल रह्यो ।
सुरुआती समयदेखि नै गोल फर्काउन कसरत गरेको मछिन्द्रका लागि पटकपटक उत्कृष्ट अवसर पाएपनि गोल गर्नबाट चुक्यो । खेलको म्यान अफ दि म्याच सगरमाथाका खेलाडी स्टेफिन घोषित हुँदै नगद दस हजारसहित ट्रफी हात पारे ।
साबिक बिजेता समेत रहेको सगरमाथा युथ क्लब मोरङले अब बिहीबारको बिजेता टिमसँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
बिहीबारको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज क्लब काठमाडौं र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
Discussion about this post