इटहरी : इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा साबिक उपबिजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाडौँले आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि सुरक्षित स्थान तय गरेको हो ।
खेलको २२ औँ मिनेटमा आर्मीका दीपक गुरुङले गोल बचाउन खोज्दा आत्मघाती गोल भएको थियो । चर्च ब्वाइजले पाएको फ्रिकिक गोल बचाउन खोज्दा हेडिङमार्फत आत्मघाती गोल भएको थियो ।
त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा उक्त गोल नै निर्णायक बन्यो । साबिक उपबिजेता समेत रहेको आर्मीले यसअघि रोलिङ क्लब झापालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
खेल अवधिभर दुवै टिमबाट पटकपटक गोल गर्ने उत्कृष्ट अवसर पाएपनि गोल हुन सकेन ।
खेलको म्यान अफ दि म्याच चर्च व्वाइज युनाइटेड क्बल, काठमाडौँका फ्याङ्कलिंक ताल्ला घोषित हुँदै नगद दस हजारसहित ट्रफी हात पारे ।
आगामी चैत ११ गते शनिबार इटहरी रंगशालामा फाइनल खेल हुने आयोजकले बताएको छ । साबिक बिजेता समेत रहेको सगरमाथा युथ क्लब, मोरङ र चर्च व्वाइज युनाइटेड क्लब, काठमाण्डौँबीच शनिबार दिउँसो २ः३० बजे फाइनल प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । गोल्डकपलाई कन्ट्रोल लुब्रिकेटले प्रायोजन गरेको छ ।
इटहरी उपमहानगरपालिकाको संयोजन रहने प्रतियोगिताका लागि खेलकुद विकास बोर्ड कोसी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
Discussion about this post