विराटनगर : जनसंख्याको हिसाबले देशभरमा कोसी प्रदेश चौथो नम्बरमा परेको छ ।
शुक्रबार (आज) सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ का अनुसार कोसी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ । सबैभन्दा धेरै जनसंख्या भने बाग्मती प्रदेशमा रहेको छ भने सबैभन्दा कम जनसंख्या कर्णाली प्रदेशमा रहेको छ ।
बाग्मती प्रदेशमा ६१ लाख १६ हजार ८६६ जनसंख्या रहेको छ भने मधेश प्रदेशमा ६१ लाख १४ हजार ६ सय, लुम्बिनी प्रदेशमा ५१ लाख २२ हजार ७८ जना, सुदुरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३, गण्डकी प्रदेशमा २४ लाख ६६ हजार ४२७ र कर्णाली प्रदेशमा १६ लाख ८८ हजार ४१२ जना मात्रै जनसंख्या रहेको छ ।
कोसी प्रदेशमा राष्ट्रिय जनगणना २०६८ मा भने ४५ लाख ३४ हजार ९४३ जनसंख्या रहेको थियो । १० वर्षपछि ४ लाख २६ हजार ४६९ अर्थात् ९.४० प्रतिशतभन्दा बढीले जनसंख्या वृद्धि भएको हो ।
सबैभन्दा बढी जनसंख्या हुने पाँच जिल्लामध्ये कोसी प्रदेशका ३ जिल्ला रहेका छन् । काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको छ भने मनाङमा सबैभन्दा कम जनसंख्या रहेको छ ।
काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या हुँदा दोस्रो नम्बरमा रहेको मोरङमा ११ लाख ४८ हजार १५६, तेस्रो नम्बरमा रहेको रुपन्देहीमा ११ लाख २१ हजार ९५७, चौथो नम्बरमा रहेको झापामा ९ लाख ९८ हजार ५४ र पाँचौं नम्बरमा रहेको सुनसरीमा ९ लाख २६ हजार ९६२ जना रहेको छ ।














Discussion about this post