धरान : धरानस्थित पीण्डेश्वर विद्यापीठ विद्यालयका उपप्राध्यापक गिरिराज खतिवडाले मादक पदार्थ सेवन गरी विद्यार्थीलाई हप्कीदप्की गरेका छन् ।
परीक्षाको गार्ड बसेका उनले विद्यार्थीलाई विभिन्न अपशब्द बोल्दै हप्काएका हुन् । यस विषयमा विद्यार्थीहरूले सोधीखोजी गर्दा विद्यार्थीलाई उल्टै धम्की दिएको बताइएको छ ।
सोही विद्यालयका विद्यार्थी प्रवेश पौडेलका अनुसार शास्त्री तहको वार्षिक परीक्षा चलिरहेको बेला उपप्राध्यापक खतिवडाले मादक पदार्थ सेवन गरी परीक्षा गार्डको रूपमा परीक्षा हलमा प्रवेश गरेर विद्यार्थीमाथि अराजकता प्रवित्ति देखाएका छन् ।
‘परीक्षा चलिरहेको समयमा अचानक परीक्षा हलभित्र प्रवेश गरेर अपशब्द बोल्दै अभद्र व्यवहार गरेपछि हामीले सोधीखोजी गर्दा उल्टै हप्काइयो,’ पौडेलले टाकुरासँग भने, ‘नैतिकताको पाठ पढाउने शिक्षबाटै यो किसिमको व्यवहार भएपछि हामी आजित भयौँ ।’
उनले संस्कृतको पाठ पढाइने विद्यालमै शिक्षकबाटै अनैतिक कार्य भएकोमा विद्यार्थीहरूको आपत्ति रहेको बताए ।
‘हामीले प्राचार्यलाई पनि जानकारी गरायौँ, तर उहाँले नसुनेजस्तो गर्नुभयो,’ अर्का विद्यार्थी किरण गजुरेलले भने, ‘शिक्षकमाथि कारबाही नभए हामी थप आन्दोलनका कार्यक्रम गर्न बाध्य छौँ ।’
मादक पदार्थ सेवन गरी परीक्षा हलमा प्रवेश गरेर विद्यार्थीमाथि गरेको अभद्र व्यवहारका कारण खतिवडालाई कारबाही हुनुपर्ने उनको माग छ ।
मापसे सेवन गरेर किन विद्यालय आएको भन्ने विद्यार्थीको प्रश्नमा उपप्राध्यापक खतिवडाले ‘मेरो आफ्नै खाएँ, तिमीहरूलाई के को आपत्ति’ जस्ता शब्द प्रयोग गरेको बताइएको छ ।
यस विषयमा उपप्राध्यापक खतिवडासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
Discussion about this post