बराहक्षेत्र : बराहक्षेत्र नगरपालिकाले प्लास्टिकका झोलाको विकल्प खोज्न सुरु गरेको छ ।
जेठ १ गतेबाट ४० माइक्रोन भन्दा कमका प्लास्टिकका झोलालाई नगरभित्र प्रयोगमा रोक लगाउने निर्णय गरेको नगरपालिकाले प्लास्टिकका झोलाको विकल्पको बारेमा उद्योग वाणिज्य सङ्घ छलफल गरेको छ ।
सोमबार उद्योग वाणिज्य सङ्घ बराहक्षेत्र र चतरा शाखाका पदाधिकारीहरूसँग छलफल गरिएको मेयर रमेश कार्कीले बताए ।
नगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०६८, फोहोर मैला व्यवस्थापन नियामवलि २०७०, प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ र वराहक्षेत्र नगरपालिकाको प्लास्टिक झोला प्रतिबन्धित सम्बन्धी निर्देशिका २०७९ अनुसार सार्वजनिक स्वास्थ्य तथा वातावरणीय संरक्षणलाई ध्यानमा राखेर तोकिएको मापदण्डभन्दा कम गुणस्तरको प्लास्टिकको झोला वा ४० माइक्रोन भन्दा कमको प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने निर्णय गरेको कार्कीले बताए ।
उद्योग वाणिज्य सङ्घसँगको छलफलबाट प्लास्टिकका झोला बन्द गर्न सचेतनाको कार्यक्रम गर्ने निर्णय गरिएको छ। साप्ताहिक हाटमा सचेतना जगाउने र प्लास्टिकका झोलाको विकल्पमा कपडा तथा अन्य झोला प्रयोग गर्ने निर्णय भएको छ ।
प्लास्टिकजन्य फोहोरले नगरको समग्र वातावरण र सुन्दरतामा प्रतिकूल प्रभाव पार्दै गएकाले नगरको फोहोर व्यवस्थापन तथा प्लास्टिकजन्य झोलाहरूको नियमन र व्यवस्थापन गर्न जरुरी भएकाले आगामी जेठ १ गतेबाट लागू हुने गरी ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोलालाई प्रयोगमा रोक लगाउने नगरपालिकाले निर्णय गरेको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममा समेत प्लास्टिक झोला मुक्त वराहक्षेत्र नगर घोषणा गर्ने कार्यक्रम निर्धारण गरे बमोजिम २०८० जेठ १ गतेबाट प्लास्टिक झोला प्रयोगमा रोक लगाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले बताए ।












Discussion about this post