इटहरी : इटहरीको एडुटेक कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा लोकगायक बद्री पङ्गेनीले प्रस्तुति दिएका छन् ।
बुधबार (आज) कलेजले आयोजना गरेको एडुटेक मेघा इभेन्ट कार्यक्रममा गायक पङ्गेनीले आफ्नो प्रस्तुति दिएका हुन् ।
मेघा इभेन्टको प्रमुख अतिथिको रूपमा आएका पङ्गेनीले विभिन्न गीत गाएका थिए । गायक पङ्गेनीको प्रवेशसँगै उत्साहित बनेका विद्यार्थीहरूले कार्यक्रममा उपस्थित अतिथिहरूलाई गायन तथा नृत्य प्रस्तुत गरेर ध्यानाकर्षण गराए ।
इभेन्टमा विभिन्न विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्फुटन गरेका छन् ।
कलेजका शिक्षक प्रकाश शर्माको संयोजकत्वमा भएको कार्यक्रममा प्रा.डा. दिवाकर रेग्मीले स्वागत मन्तव्य राखेका थिए । कलेजले कक्षागत पढाइबाहेक कला, साहित्य, संस्कृति र खेलकुदलाई प्राथमिकतामा राखेको रेग्मीले बताए ।
कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका सदस्य पवन अधिकारीले उदेश्य बोकेर अध्ययन गर्नुपर्ने बताए । कतिपय मानिसहरू सीपबिनै जागिरको खोजीमा भौतारिरहेकाले सीपयुक्त शिक्षा आवश्यक पर्ने अधिकारीले बताए ।
‘जागिर पाउनका लागि सीप चाहिन्छ, अहिले आम मानिसले शिक्षा लिएपनि सीप नसिक्दा समस्या हुँदै आएको छ,’ उनले भने, ‘विद्यार्थीलाई व्यवहारिक बनाउने उदेश्यले एडुटेक कलेजले आयोजना गरेको यो कार्यक्रम महत्वपूर्ण छ ।’
एडुटेक कलेजका अध्यक्ष चिरञ्जीवी तिम्सिनाले आँफूहरूले कलेजमा सीपयुक्त शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार उक्त इभेन्टमा अडिसनबाट छानिएर आएका विद्यार्थीहरूले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत समेत गरिएको तिम्सिनाले बताए ।
‘हामीले कलेजमा किताबी ज्ञानसँगै सीपयुक्त सिकाईलाई जोड दिएका छौँ,’ उनले भने, ‘सोहीअनुसार आजको कार्यक्रम आयोजना गरिएको हो, हामीकहाँ अध्ययन गर्ने विद्यार्थीहरूले व्यवहारिक शिक्षा सिकुन् भन्ने हाम्रो उदेश्य छ ।’















Discussion about this post