इटहरी : धरानका मेयर हर्क साम्पाङले सरकारले लगाएको आधिकारिक साँध सीमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई नहुने बताएका छन् ।
बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै उनले इटहरी र धरानबीचको सीमा विवादको विषयमा अराजकता मच्चाएको आरोप लगाएका हुन् ।
गत आइतबार साँझ इटहरी उपमहानगरपालिका वडा नं. २० स्थित तरहराको पानीपियामा धरान उपमहानगरले स्वागत बोर्ड राखेपछि विवाद चर्किएको थियो ।
इटहरी क्षेत्रमा आफ्नो सीमाना परेको दाबी गर्दैै धरान उपमहानगरका मेयर हर्क साम्पाङको निर्देशनमा बोर्ड राख्न निर्देशन दिएसँगै नगर प्रहरी र कर्मचारीहरूले बोर्ड राखे ।
लगत्तै सोही राति युवा संघ इटहरीले उक्त बोर्ड उखालेपछि अहिले सीमाको विषयलाई लिएर विवाद झनै चर्किएको छ । बोर्ड हटाएपछि आँफूले कारबाही गर्ने बताएका धरानका मेयर साम्पाङले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै आँफूले सीमा खोज्नु अधिकार भएको बताएका हुन् ।
उनले आफ्नो क्षेत्राधिकार यकिन गर्नु कर्तव्य भएको भन्दै संघीय सरकार र नापी विभागद्वारा जारी नक्साका आधारमा पानीपिया क्षेत्रमा सीमा प्रारम्भको बोर्ड लगाएको बताएका हुन् ।
‘सरकारले लगाएको आधिकारिक साँध सीमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कोही कसैलाई छैन र हुनु हुँदैन, त्यसो भएको हुँदा कसुरवार पक्षलाई कानुनी कारबाहीको माग गर्दछु,’ मेयर साम्पाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त बोर्ड यथास्थानमा पहिलेकै अवस्थामा जस्ताको त्यस्तै लगाइदिन सम्बन्धित पालिका र सम्बन्धित निकायहरूमा माग गर्दछु ।’
आधिकारिक नक्सामा धरानको सीमा पानीपिया नै रहेको धरान उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठको दाबी छ ।
उनले सेउती पुललाई प्रहरीको इलाका प्रहरीको सीमा तथा सामुदायिक वन समितिले निर्धारण गरेको सीमा क्षेत्र भएकाले उपमहानगरलाई भने त्यो आधिकारिक नहुने उनले बताए ।
यता, इटहरी उपमहानगरपालिकाले सीमा विवाद झिकेर द्वन्द फैलाउन खोजिएको भन्दै संवादमा आउन आग्रह गरेको छ ।














Discussion about this post