इटहरी : कक्षाकोठाबाट विद्यालय परिसरमा निस्किएका विद्यार्थीहरू एक–दुई गर्दै लाइनमा बसे ।
अन्य समयमा कक्षाकोठाबाहिर दैनिक हाजिरी हुनुअघि लाइनमा बसेर राष्ट्रगान गाउँथे । तर, यसदिन भने दिउँसोको समयमा विद्यार्थीहरू लाइनमा बस्दा दृश्य अलिक फरक देखियो ।
इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा विद्यार्थीहरूले मत खसालेर क्याप्टेन चुनेका छन् ।
चुनावी शिक्षा सिकाउनका निम्ति विद्यालयले प्रयोगात्मक विधिबाट क्याप्टेन चुनेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक मनिकुमार पौडेलले विद्यालयको क्याप्टेन र सहायक क्याप्टेन चुन्न विद्यार्थीहरूले मतदान गरेको बताए ।
उनका अनुसार कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले मत खसालेका थिए ।
क्याप्टेनका लागि ५ जना, सहायक क्याप्टेनका लागि १० जना प्रतिष्पर्धामा थिए । सहायक क्याप्टेनमा भने छात्राहरू पनि प्रतिष्पर्धामा थिए ।
पौडेलका अनुसार कक्षा १० का आर्यन कार्की क्याप्टेन चुनिए । उनी दुई मतान्तरको अन्तरले क्याप्टेन चुनिएका हुन् ।
यस्तै, सहायक क्याप्टेनमा भने दुईजना चुनिएका छन् । छात्रातर्फ कक्षा ९ की छात्रा दृष्टिका बास्कोटा र छात्रतर्फ कक्षा ९ कै लोमस सुवेदी चुनिएका छन् ।
विद्यार्थीहरूले मतदानमार्फत क्याप्टेन र सहायक क्याप्टेन चुनिन पाउनु आँफूहरूका लागि नयाँ सिकाइ भएको बताएका छन् ।
‘अनुशासन र संस्कारसहितको प्रयोगात्मक अभ्यासमा आधारित शिक्षण सिकाईमा हाम्रो मुख्य जोड रहेको छ,’ विद्यालयका प्रधानाध्यापक पौडेलले भने, ‘विद्यार्थीहरूकै सक्रिय सहभागिता र नेतृत्वमा आवधिक रूपमा विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू र प्रदर्शनीहरू समेत संचालन हुन्छन् । जसले विद्यार्थीलाई नेतृत्व विकाससँगै सिकाईप्रति अभिप्रेरित गर्दै प्रतिस्पर्धी भावनाको विकास गराउन मद्दत गर्ने कार्यक्रमहरू संचालन गरिरहेका छौं ।’















Discussion about this post