इटहरी : इटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले २७ औँ अभिभावक दिवस मनाएको छ ।
इटहरी १६ स्थित विद्यालय प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी अभिभावक दिवस मनाइएको हो ।
एसओएस बालग्रामका निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवचरण चौधरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा सुनसरी जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुुमकला पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा इटहरी उपमहानरपालिकाका प्रमुख सूर्यप्रसाद सुवेदी, इटहरी १६ का वडाध्यक्ष तेजनारायण चौधरी, ७ नम्बर वडाका वडाध्यक्ष देवनारायण चौधरी तथा रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति दिनेश भट्टराईलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
अभिभावक दिवससम्बन्धी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सम्पूर्ण अभिभावक, कर्मचारी, स्थानीय जनप्रतिनिधिको सहयोगमा मात्र विद्यालयले विभिन्न शैक्षणिक उपलब्धि हासिल गरेको र सार्वजनिक गुठीको अवधारणामा सञ्चालित विद्यालय भएकाले इटहरीको साझा सम्पत्तिका रूपमा यसको समृद्धिमा सबैलाई साथ दिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले एसओएस नेपालले अभिभावक गुमाएका र गुमाउने खतरामा रहेका बालबालिकाका क्षेत्रमा अभिभावकीय दायित्व पूरा गरी उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरिन् ।
उनले भनिन्, ‘राज्यले वहन गर्न नसकेको अभिभावकीय दायित्व एसओएसले पूरा गरेको छ । अभिभावक गुुमाएका बालबालिकालाई जन्मदर्ता, नागरिकताजस्ता पहिचान स्थापित गर्ने अधिकारमा एसओएसले सघाएको छ जुन आफैँमा प्रशंसनीय छ । एसओएसले अझै प्रगति गर्दै नैतिकवान्, स्वरोजगार एवम् दक्ष जनशक्ति निर्माण गरोस् ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले विद्यालयले गरेको प्रगतिमा सबै इटहरीबासी जनता तथा स्थानीय सरकारको सहयोगले सम्भव भएको पनि बताए ।
अभिभावकहरूको प्रतिनिधित्व गर्दै छवि खड्काले शिक्षक तथा अभिभावक दुवैको सहकार्यले मात्रै विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत पुग्ने भन्दै सबै अभिभावकहरूलाई विद्यालयसँग समन्वय र सहकार्य गर्न आह्वान गरे ।
कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्याथीहरूले लघुनाटक, शास्त्रीय तथा आधुनिक नृत्य, फेसन सो तथा र्याम्प वाक गरेका थिए ।
२०५० सालमा इटहरीमा स्थापित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरी एसओएस बालग्रामद्वारा सार्वजनिक गुुठीको अवधारणामा सञ्चालित र संरक्षित हुँदै आएको छ ।
हालसम्म यस विद्यालयले २४ वटा कक्षा १० ब्याच उत्पादन गरिसकेको छ । नर्सरीदेखि कक्षा १० सम्म साधारण र यसै वर्षदेखि प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङमा कक्षा नौदेखि १२ कार्यक्रम पनि सुरु भएको छ ।
Discussion about this post