इटहरी : इटहरी-धरान चारकोसे जंगलमा गोली हानेर हत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका ५ का रोहित चौधरीको गत साउन ५ गते गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् ।
उनीहरू दुवै लागूऔषध प्रयोगकर्ता रहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
बुधबार विराटनगरमा पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको छ । तिम्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागूऔषध मुद्दामा ६ महिना कारागार बसेर निस्किएका थिए ।
डीआईजी बास्तोलाकाअनुसार पक्राउ परेकाहरू चोरी र लुटपाटको घटनामा संलग्न छन् । पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको बास्तोलाले बताए ।
आफ्नो २८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा रोहितमाथि चारकोसेस्थित सेउती खोलाको पुल नजिकै गोली प्रहार गरी हत्या गरिएको थियो ।
Discussion about this post