इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २० मा अशक्त ज्येष्ठ नागरिकको ज्येष्ठ नागरिक सुरक्षा भत्ता सेवाको नवीकरणका लागि जनप्रतिनिधि घरमै खटिएका छन् ।
आर्थिक वर्ष २०८०।८१ सुरु भएसँगै साउन १ गतेदेखि ज्येष्ठ नागरिक सुरक्षा भत्ताको विवरण अद्यावधिक गर्न सुरु गरिएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार वैदेशिक रोजगार वा अन्य कुनै सिलसिलामा विदेश पुगेका वा मृत्यु भइसकेका सेवाग्राहीको नाममा आउने भत्ता दुरुपयोग हुनसक्ने भएकाले त्यस्तो सम्भावना निराकरण गर्न सरकारले वार्षिक रूपमा विवरण अद्यावधिक गर्ने गर्दछ ।
इटहरी २० मा एक हजार एक सयभन्दा बढी जेष्ठ नागरिक रहेको इटहरी २० का वडा सदस्य तनुज गुरुङ (सुरेश)ले बताए ।

अहिले उनै गुरुङसहित कर्मचारीहरू सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि जेष्ठ नागरिकको घरमै खटिरहेका छन् । उनका अनुसार सेवाग्राहीहरूको विवरण भदौ पहिलो हप्तासम्म नवीकरण गरिसक्ने लक्ष्य लिइएको छ ।
ज्येष्ठ नागरिकहरू अधिकांश शारीरिक रूपमा कमजोर वा अशक्त हुने हुँदा त्यस्ता सेवाग्राहीको भत्ता रकम सम्बन्धित टोलमै भुक्तान गर्ने व्यवस्था मिलाउन बैङ्कसँग छलफल गरिरहेको उनको भनाइ छ ।












Discussion about this post