धरान : धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको एक हजार सात सय ४८.५ केजी अखाद्य बेसार बरामद गरी नष्ट गरिएको छ ।
धरान उपमहानगरले शुक्रबार उक्त मात्राको बेसार नष्ट गरेको हो ।
बरामद गरिएको १३ बोरामा ६ सय २३.५ केजी र मिलमा राखिएको ४५ बोरामा रहेको एक हजार एक सय २५ केजी बेसार खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय इनरुवा, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, नगर प्रमुख हर्कराज राई (साम्पाङ) साथै बजार अनुगमन समितिको रोहवरमा नष्ट गरिएको हो ।
धरान २० स्थित नमुना टोल साबुन फ्याक्ट्री परिसरमा नष्ट गरिएको धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
गत असोज २ गते अनुमगन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो ।
यसअघि खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवानासमेत गरेको थियो ।
Discussion about this post