विराटनगर : नेकपा एमालेका कोसी प्रदेश अधिवेशनमा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठेको छ ।
एमाले नेता विनोद ढकालले आफूलाई हराउन कोशी प्रदेशको सत्ता प्रयोग गरिएको आरोप लगाउँदै निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् । उनले विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रश्न उठाएका हुन् ।
एमाले कोसी प्रदेशको पहिलो अधिवेशनमा अर्का नेता घनश्याम खतिवडासँग पराजित भएका अध्यक्षका प्रत्यासी ढकालले हिक्मत कार्की नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका हुन्।
ढकालले विश्वासको मत नलिई प्रदेश सरकार विस्तार गरेर आफूलाई हराउने काम भएको बताए ।
‘मलाई कस–कसले हराउन के–के गरे सबै तपाईंहरुलाई थाह छ’– उनले भने– ‘यहाँको प्रदेश सरकार पनि मलाई हराउन प्रयोग भयो । विश्वासको मत लिनुअघि नै मन्त्री पनि मलाई हराउने योजनासहित बनाइएको हो ।’
तर, ढकालले निर्वाचनको नतिजा स्वीकार गरेको बताए । अहिले पनि एमालेको मूल नेतृत्वकै बाटोमा रहेको उनले बताए । ढकालले खतिवडा नेतृत्वको कोसी प्रदेश कमिटीलाई बधाइ पनि दिएका छन् ।
उनले खतिवडा कार्यसमितिलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । तर, ढकालले आँफूलाई मत हाल्ने नेता कार्यकर्तालाई विभेद भएमा उनीहरूको पक्षमा उभिने बताए ।













Discussion about this post