इनरुवा : सुनसरीको इनरुवा नगरपालिकामा सुविधा ग्याँसको तौल कम भएको पाइएको छ ।
इनरुवा नगरपालिकाले बजार अनुगमनका क्रममा सुविधा ग्याँसको तौल कम भेटिएको छ । बजार अनुगमनका लागि उपमेयर बिनिता मेहता संयोजकत्वको टोलीले सिलबन्द ग्याँस जोख्ने क्रममा सुविधा ग्याँसको तौल कम पाएको हो ।
बजारमा लामो सयमदेखि ग्यास कारोबार गर्दै आएको अंशु ग्याँस पसलमा अनुगमन टोलीले सुविधा ग्याँस जोखेको थियो । सो क्रममा अनुगमन टोलीले प्रत्येकजसो ग्याँस सिलिण्डरमा ३ सय देखि ४ सय ग्राम ग्याँस कम पाएको थियो ।
अनुगमन टोलीले ग्याँस मापन गर्ने क्रममा पसल सञ्चालकले आफ्नो काँटा बिग्रिएको जानकारी गराउँदै सही मापन गर्ने भन्दै छिमेकीको पसलबाट काँटा झिकाउन सहयोग गरेको थियो । टोलीले सोही आधारमा सिलबन्द ग्यास सिलिण्डर जोखेको थियो ।
छड्के जाँचका रुपमा जोखिएको सिलिण्डरमा ग्याँस कम पाएपछि अनुगमन टोलीले बिक्रीका लागि राखिएका अन्य ग्याँस सिलिण्डर समेत तौलेको थियो ।
एकपछि अर्को सिलिण्डरमा तौल कम पाएपछि अनुगमन टोलीले बिक्रीका लागि गोदाममा राखिएका अन्य सिलिण्डरसमेत जोखेको थियो । सो क्रममा समेत तौलमा कमी पाएपछि नगर प्रमुखले ग्याँस जफत गर्न टोलीलाई निर्देशन दिएका थिए ।
नगर प्रमुख केदार भण्डारीले एकसाथ ठूलो संख्यामा सिलबन्द रहेका ग्याँस सिलिण्डरको तौल कम पाइएपछि उद्योग प्रशासनलाई फोनमार्फत अनुगमनका क्रममा कालोबजारी भएको पाइएको भन्दै ग्याँस जफत गरिएको जानकारी गराएका थिए ।
Discussion about this post