मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले लुटेरा समूहका पाँच जनालाई थुनामा राख्ने आदेश भएसँगै कारागार पठाइएको छ ।
मोरङका विभिन्न स्थानमा हतियार देखाएर धम्क्याउँदै शृंखलाबद्ध लुटपाटको घटनामा संलग्न समूहलाई पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा ४० वर्षीय रिजवान मियाँ, २४ वर्षीय नजरुल मियाँ, ३१ वर्षीय मोहम्मद अलि, मुरताजा मियाँ, ३० वर्षीय नजरूल मियाँ र ४० वर्षीय मोहम्मद आलम लाई थुनामा राख्न मोरङ जिल्ला अदालतले आदेश दिएको हो ।
गत भदौ महिनामा मोरङको विभिन्न स्थानमा भएका धनमाल लुटका घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गर्ने काममा उनीहरु सक्रिय रहेको प्रहरीको भनाई छ ।
शृंखलाबद्ध लुटका घटना बढेपछि प्रहरीले ‘अपरेसन सिएरा ब्राभो कन्ट’ अभियान चलाएको थियो । उक्त अभियानका क्रममा लुटपाटमा संलग्न समूहका सातजनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।
उनीहरूले प्रयोग गरेको मोबाइलको ‘लक’ खोलेर आपराधिक काममा सहयोग गर्ने मोबाइल पसल सञ्चालक ३० वर्षीय सिजाम आलमलाई एक लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।
उनीहरुको साथबाट कटुवा पेस्तोल, प्रहरीबाट केही समयअघि लुटिएको चिनियाँ पेस्तोल, मोबाइल फोन १६ वटा, मेमोरी कार्ड १२ बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी उक्त समूहको साथबाट प्रहरीले १ लाख ७५ हजार २ सय ७५ रुपैयाँ र ११ हजार ६ सय भारतीय रुपैयाँका साथै दुईवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।














Discussion about this post