विराटनगर : नेकपा एमाले कोसी प्रदेश कमिटीमा ११ जना मनोनित भएका छन् । मनोनीत हुनेमा निर्वाचनमा पराजित भएकादेखि प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसमेत छन् ।
प्रदेश कमिटिमा विराटनगरका व्यवसायी अरुण राठीसमेत मनोनित भएका छन् । यस्तै, खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत र विराटनगरका पूर्वउपमेयर मेयर भूराज राई, जसपाबाट एमालेमा प्रवेश गरेका रामसिंह राईलाई मनोनित गरिएको छ ।
यस्तै, संखुवासभाका बद्री सापकोटा, मोरङका नागेश पोखरेल, भोजपुरका देविराम चौलागाईं, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र सुब्बालाई पनि मनोनित गरिएको छ । सुब्बा राप्रपा र काँग्रेस हुँदै एमालेमा प्रवेश गरेका हुन् ।
अधिवेशनअघि करिब ६ सय सदस्यीय प्रदेश कमिटीलाई २१५ सदस्यीय बनाइएको थियो । त्यसमा ११ जना थप भएका हुन् ।
विधानअनुसार थप ११ जना मनोनीत गर्नसक्ने अवस्था रहेको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
अध्यक्ष खतिवडा स्कुल विभागमा, संगठन विभागमा सचिव राजकुमार भण्डारी, प्रचार विभागमा लक्ष्मण तिवारीलाई प्रमुख तोकिएको छ । यस्तै, उपाध्यक्ष टीकाराम चेम्जोङ निर्वाचन, उपसचिव देवान राई विज्ञान तथा प्रविधि र उपसचिव जलवर्षा राजवंशी शहरी विकास विभाग प्रमुख बनेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका झापाका एलपी साँवा लिम्बुलाई वित्त तथा कोष व्यवस्थापन विभाग, रोशन बस्नेतलाई विद्यार्थी इन्चार्ज र प्रभातविक्रम कटुवाललाई युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी एमालेले दिएको छ ।
यस्तै, राष्ट्रियसभा सदस्य रहेका सोनाम ग्याल्जेन शेर्पा पर्यटन प्रवर्द्धन विभागको प्रमुख बनेका छन् ।
बैठकले गत असोजमा भएको अधिवेशनमा पराजित भएकाहरूसहित २१० जनालाई सल्लाहकारसमेत मनोनीत गरेको छ ।
Discussion about this post